लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, मन्त्रिपरिषद्ले निर्णय गर्ने



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय कोरोना संक्रमित भएमा सरकारी स्वास्थ्य संस्था तथा जनशक्तिले धान्न नसक्ने भन्दै पुनः लकडाउन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

हिजो (बुधबार) नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । असोज ७ गतेको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २५ हजार सक्रिय संक्रमित पुगेपछि लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी गराएका थिए ।

एकैदिन ३ हजार ४ सय ३९ संक्रमित थपिएपछि २५ हजारभन्दा बढी सक्रिय संक्रमित पुगेका हुन् । एकैदिनमा यति धेरै संक्रमित देखिएको बुधबार पहिलो पटक हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजारभन्दा बढी हुन थालेपछि सामान्य सेवा पनि प्रभावित हुने भएकाले संक्रमण रोक्न पुनः लकडाउन गर्नुपर्ने सुझाव दिएको बताए ।

स्वास्थ्य मन्त्रालयले अवस्था विश्लेषण गरी सरकारलाई सुझाव दिएको तर लकडाउन वा निषेधाज्ञा हुने र नहुनेबारे मन्त्रालयले निर्णय गर्न नसक्ने बताए । उनले यसबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्ने बताए ।

उनले भने,‘पछिल्लो समय एकदमै अलोकप्रिय शब्द हो, लकडाउन, त्यसको सकारात्मक प्रभाव जनस्वास्थ्यका क्षेत्रमा काम गर्नेहरूलाई मात्र थाहा छ, अहिले हामी संक्रमणबाट जोगिने मापदण्ड अपनाउन भन्दा भेन्टिलेटर र आइसियूको संख्या गन्न थाल्यौँ, जुन दुखद हो ।’

प्रकाशित :२२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्