जीवनको आनन्द आर्थिक सफलतामा होइन्, मानसिक सन्तुलनमा



मानिसहरुले आफ्नो जीवनमा सफलता प्राप्त गर्नको लागी धेरै सपनाहरु देखेका हुन्छन् । उनीहरु जीवनमा केहि कुरा हाशिल पनि गर्न चाहन्छन तर ति कुराहरु पाउन अथवा सफलता प्राप्त गर्न त्यति सजिलो पनि हुँदैन ।

त्यसको लागी धेरै परिस्थितिहरुको सामना गर्दै अघि बढ्नु पर्ने हुन्छ । जीवनमा अघि बढ्ने क्रममा साना ठुला समस्याहरुको सामना गर्दै जाँदा दिमागमा पनि अनेक कुराहरु खेल्ने गर्छन् ।

जस्तै ः म यो काम गर्न सक्छु कि सक्दिन होला, अब यसपछि फेरी कस्तो समस्याको सामना गर्नुपर्ने होला, यस्तै यस्तै कुराहरु मनमा खेलिरहेका हन्छन् । जब मानिसहरुको मनमा अनेकौ कुराहरु खेल्न थाल्दछ तब ऊ डिप्रेसनमा जान सक्दछ ।

यसले गर्दा आफ्नो मानसिक स्वास्थ्यलाई पनि ख्यालमा राखेर अघि बढ्नु पर्दछ । यदि मनमा धरै कुराहरु खेलिरहेका छन् भने आफ्नो मन मिल्दो साथीभाईहरु सग त्यो कुरा शेयर गर्ने गर्नुहोस् । यसले गर्दा तपाईको मन हल्का हुन्छ ।

आजकल मानिसहरु धेरै तनावमा रहने गर्दछन् । आफ्नो घर परिवारलाई लिएर तनावमा हुन्छन् भने कतिपय आफ्नो करियरलाई लिएर तनावमा रहन्छन् । त्यसैले आज हामी यस्ता कुराहरुलाई मध्य नजर गर्दै यस्ता समस्याहरुबाट कसरी छुटकारा पाउने भन्ने बारे चर्चा गर्न गईरहेका छौ ।

तनावमा रहिरहनु भनेको एकदमै गम्भीर समस्या हो त्यसैले हामीले यसलाई सामान्य रुपमा लिनु हुँदैन । किनकि तनावमा रहेका कारण मानिसहरुबाट अप्रिय घटनाहरु पनि घट्ने गर्दछ ।
दिमागलाई सन्तुलनमा कसरी राख्ने ?

१. लेख्ने बानीको विकास गर्नु
यदि तपाईको दिमागमा एकै चोटी धेरै कुराहरु आइरहेका छन् भने ति कुराहरुलाई आफ्नो निजि डायरीमा टिपोट गर्नुहोस् । ति कुराहरुलाई दिमागमै राखिरहनु भयो भने तपाईको दिमागलाई निकै प्रेसर पर्छ त्यसैले दिमागमा जे जति कुराहरु आए पनि त्यसलाई टिपोट गरिहाल्नुहोस । यसरी दिमागमा आएको कुराहरुलाई लेख्ने बानीले दिमागी सन्तुलन कायम राख्न मद्दत पुग्छ ।

यदि तपाईको लेख्ने बानी छैन भने एकपटक लेखेर हेर्नुहोस् तपाईको मन हल्का हुनेछ । र तपाई विकल्प र बिचारको पनि राम्रोसँग बिश्लेषण गर्न सक्नुहुनेछ । नकारात्मक्क होस् वा सकारात्मक कुरा त्यसलाई टिपोट गरिहाल्नु र ति मध्ये कुन कुराले तपाईलाई फाईदा पुर्याउछ र कुन कुराले बेफाइदा त्यसको बारेमा बिचार गर्नुहोस् ।

२. आफ्नो लागी ठाँउ बनाउनुहोस्
मानिसहरुको कस्तो बानी हुन्छ भने उनीहरु आफ्नो बारेमा भन्दा बढी अरुको बारेमा सोचेर तनावमा आउने गर्दछन् । त्यसैले सबैभन्दा सुरुमा आफुलाई महत्व दिनुहोस् । आफुले गर्ने कामहरुलाई बढी प्राथमिकता दिने गर्नुहोस् । जतिबेला पनि काम मात्र भनेर नबस्नुहोस् ।

मनोरंजनका लागी पनि समय निकाल्नुहोस् । हप्तामा एक पल्ट साथीभाईहरु संग वा आफ्नो परिवार संग कतै रमाइलो ठाउँमा घुम्न जाने गर्नुहोस् । बिभिन्न चाडपर्वहरुमा मन खोलेर रमाउने गर्नुहोस् । हरेक कुरालाई सकारात्मक तरिकाले हेर्ने गर्नुहोस् । यसो गर्दा तपाईमा एउटा सकारात्मक उर्जा आउछ र नकारात्मक बिचारहरुले तपाईमा ठाउँ पनि पाउदैनन् ।

३. प्राथमिकता छुट्याउनुहोस्
सबैभन्दा सुरुमा तपाइले गर्ने काम र तपाईको जीवनको महत्वपूर्ण कुराहरुलाई प्राथमिकतामा राख्नुहोस् । किनकि आफ्नो जीवन आफैले बनाउने हो त्यसैले प्राथमिकताहरु छुट्याउन एकदमै जरुरी हुन्छ । तपाईको लागी महत्वपूर्ण के छ त्यसमा मात्र ध्यान केन्द्रित गर्ने गर्नुहोस् ।

अरुले आफ्नो बारेमा के भन्छन भनेर नसोच्नुहोस् । यसले गर्दा तपाईसँग अनावश्यक कुराहरुको लागी समय पनि हुदैन र तपाईको इज्जत पनि बढ्दै जान्छ । यसरी आफ्नो काममा ध्यान केन्द्रित गर्दै जानुभयो भने करियरमा सफल पनि बन्नुहुनेछ । त्यसपछि तपाईको दिमागबाट अनावश्यक कुराहरु पनि घट्दै जान्छ र तपाईको समाजमा पनि एउटा राम्रो छाप बस्ने छ ।

४. सम्बन्ध बिस्तार गर्नुहोस्
जीवनमा सधै सकारात्मक सोच भएका व्यक्तिहरुको मात्र संगत गर्नुहोस् । उच्च बिचार भएका व्यक्तिहरु संग सम्बन्ध बिस्तार गर्दै जानुभयो भने तपाईको काम गर्ने क्षेत्रमा पनि सहयोग पुग्नेछ । आफ्नो काम र व्यक्तिगत जीवनलाई एकै ठाउमा मिलाएर नबस्नुहोस् ।

व्यक्तिगत जीवनलाई बेग्लै र खुसि भएर बाच्नुहोस् । आफ्नो पेशागत मर्यादा र जीवनलाई ध्यानमा राखेर आफ्नो सिमितता बनाउदै जानुहोस् । यसले गर्दा तपाई बिना कुनै अलमल अगाडी बढ्न सक्नुहुनेछ र तपाईको दिमागमा अनावश्यक कुराहरु पनि आउदैनन् ।

५. काम गर्ने बानीको बिकास गर्नुहोस्
जति धेरै कम गर्यो त्यति बढी दिमागबाट नकारात्मक कुराहरु पनि हट्दै जान्छ । जो मान्छे केहि काम नगरी बस्छ उसको दिमागमा अनेकौ कुराहरु खेल्न थाल्दछ र उसको दिमागी सन्तुलन पनि बिग्रन सक्दछ । त्यसैले काम नगरी बसेर आफ्नो दिमागमा नराम्रो कुराहरुलाई डेरा बसौं नदिनुहोस् । आफुले आफुलाई ब्यस्त राख्नुहोस् ।

एकैपटकमा धेरै काम गर्न नखोज्नुहोस् । पालई पालो काम गर्ने गर्नुहोस् । एकैपटक धेरै काम गर्ने भनेर सोच्न थाल्नु भयो भने तनाव मात्र बढ्छ त्यसैले हरेक काम पालै पालो गर्ने गर्नुहोस् । धेरै काम गर्दा तपाईको समय व्यवस्थापन पनि मिल्दैन् र तपाईको ध्यान नै अलमल पर्छ । त्यसैले आफुलाई कुन काम गर्दा खुशि मिल्छ त्यो काम गर्नुहोस् ।

६. तालिका बनाएर काम गर्नुहोस्
आफ्नो दिन अस्तव्यस्त भयो भने दिमागमा नकारात्मक कुराहरु आउन थाल्दछ र तनाव पनि बढ्छ । त्यसैले समय व्यवस्थापन गरेर आफ्नो काम गर्ने गर्नुहोस् । समय व्यवस्थापन गर्दा सबै कामहरु बिना कुनै झन्झट गर्न सकिन्छ । र, आफ्नो दैनिकीलाई व्यवस्थित बनाउन सकिन्छ । समयलाई महत्व दिनुहोस र अघि बढ्नुहोस । यदि तपाई करियरमा पनि सफल बन्न चाहनुहुन्छ भने समयलाई पनि महत्व दिनु एकदम जरुरी हुन्छ ।

७. व्यक्तित्व विकासमा लगानी गर्नुहोस्
आफु बस्ने ठाँउ र आफुले काम गर्ने ठाँउ सफा र सुन्दर राख्नुहोस् । विभिन्न सभा तथा सेमिनारहरूमा सहभागी हुने गर्नुहोस् । यसले तपाई नयाँ कुराहरु सिक्न पाउने हुनेछ । नयाँ साथीहरु बनाउन पाउने मौका पनि पाउनेहुनेछ । नयाँ कुरा सिक्ने तालिमहरु खुलेको ठाउमा सहभागी हुन जानुहोस । नबुझेको कुरा सोध्ने गर्नुहोस् । आफुलाई आर भन्दा फरक ढंगले प्रस्तुत गर्नुहोस् ।

नयाँ–नयाँ कुराहरुसँग अपडेट रहनुहोस् । तपाईमा जति धेरै कुराहरुको जानकारी हुन्छ त्यति बढी तपाईमा राम्रा कुराहरु आउन थाल्नेछन् । पुस्तकहरू खोजि खोजि पढ्ने गर्नुहोस् । यस्ता कामहरु गरिरहँदा तपाई सँग अनावश्यक कुराहरु सोचेर बस्ने फुर्सद पनि हुँदैन र तपाई एक सकारात्मक बिचार लिएर अगाडी बढ्न सक्नुहुनेछ ।

८. शारीरिक अभ्यास र योगा गर्नुहोस्
बिहान अरु उठ्नु भन्दा अगाडिनै उठेर एक घण्टा भए पनि हिड्ने गर्नुहोस् । बिहानको चिसो हावामा हिड्दा दिमाग पनि फ्रेश रहन्छ र शारीरिक तन्दुरुस्ती सँगै दिमागमा बेग्लै किसिमको उर्जा पनि थपिदै जान्छ । हरियाली र शान्त भएको ठाँउमा गएर केहि समय भए पनि बस्ने गर्नुहोस् । बिहानै उठेर योगा गर्ने गर्नु किनकि यसले शरीरमा भएको रोगहरुलाई पनि ठिक गर्दछ । शारीरिक अभ्यास गर्दा शारीरिक तथा मानसिक स्फूर्ति पनि बढ्छ ।

माथि उल्लेख गरिएका कामहरु यदि तपाइले आज बाट आफ्नो जीवनमा लागु गर्नुभयो भने नकारात्मक सोच र आलस्यता बाट तपाई टाढा रहनुहुनेछ । र, तपाईको दिमागबाट तनाव पनि कम हुँदै जान्छ । संसारमा जति पनि समस्याहरु छन् तिनीहरुको समाधान पनि छ तर कतिपय मानिसहरु त्यसको खोजिनै गर्दैनन् र जिन्दगीभर पछुताएर बस्ने गर्छन् ।

त्यसैले के समस्या छ त्यसबारे खोजी गर्नुहोस् र त्यसको समाधान के छ त्यसलाई आफ्नो जीवनमा लागु गर्न थालिहाल्नुहोस । यसो गर्नाले तपाई एक स्वस्थ र सुन्दर जीवन बाच्न सक्नुहुनेछ । आफु र आफ्नो परिवारलाई तनाव मुक्त राख्नुहोस् । सधै दिमागमा सकारात्मक सोच राख्नुहोस् । जतिसक्दो नकारात्मक कुराहरुबाट टाढा नै बस्नुहोस् । किनकि सकारात्मक सोचले नै तपाईलाई उज्यालो पाटो तर्फ लैजान्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्