ईपिएस पास गरेकाहरु कोरिया जान पाउने, रोकिएको परीक्षा जनवरीमा हुने



काठमाडौं : वैदेशिक रोजगार विभागले कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपिएस) भाषा परीक्षा पास गरेका कामदारलाई यही महिना पठाउने बताएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दहालले ती कामदार यही अक्टोबर महिनाभित्र कोरिया जान पाउने गरी व्यवस्था हुने जानकारी दिए । यस वर्ष रोकिएको भाषा परीक्षा जनवरीबाट सुरु गरिने पनि दहालले बताए ।

आवेदन दिएर परीक्षा दिन नपाएर अन्योलमा परेका करिब ९० हजार आवेदकलाई जनवरीबाट परीक्षामा बस्ने व्यवस्था मिलाईने उनले जानकारी दिए । ईपिएस भाषा परीक्षाको लागि सन् २०२० मा करिब ९० हजारले आवेदन दिएका थिए ।

यतिबेला सन् २०२० को भाषा परीक्षा भएर कोरिया जान पाउने नपाउने टुंगो भइसकेको हुने थियो तर २०१७ मै भाषा परीक्षा पास गरिसकेका नेपाली कामदार कोरिया जान पाउने कि नपाउने अन्योल छ । महानिर्देशक दहालले यसको पनि समाधान हुने दावी गरे ।

सन् २०१८ मा पनि भाषा परीक्षा दिएर कोरिया जान योग्य कामदार थुप्रै थिए । ती मध्ये धेरै गए, धरै जान पाएनन् । जान नपाउने अधिकांश कृषि तर्फका रहेको उनले बताएका छन् । तिनलाई रोजगारदाता कम्पनिले नै चयन नगरेको दहालले बताए ।

एक पटक भाषा परीक्षा दिएका व्यक्तिहरुले दुइ वर्षसम्म रोजगार आवेदन दिन पाउँछन् । १८ का कामदारहरुको भाषा परीक्षा अवधिको अन्तिम ६ महिना कोभिडका कारण गुमेपछि, धेरैको चासोको विषय बनेको छ ।

प्रकाशित : २३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्