आजदेखि जिल्ला प्रशासन धनुषाको नियमित सेवा शुरु



जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले स्थगित गरिएका आफ्ना नियमित सेवाहरु शुक्रबारदेखि आलोपालो प्रणाली अन्तर्गत प्रारम्भ गरेको छ ।

कोरोना संक्रमणको प्रभावकारी रोकथाम एवं नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट स्थगित गरिएका नियमित सेवाहरु सामाजिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्डहरु अपनाएर सेवा प्रवाहको ढाँचा परिवर्तन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीको चाप बढ्दै गएपछि स्थानीय तह अनुसार सेवाप्रवाहको समय तालिका सार्वजनिक गरिएको र अबदेखि शनिबार पनि सेवाप्रवाह गरिने बताइएको छ ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै प्रशासन कार्यालय परिसरमा भिडभाड तथा सेवाग्राहीको चापलाई सहज बनाउने उद्देश्यले सेवाप्रवाहका लागि कार्यतालिका सार्वजनिक गरिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले जानकारी दिए ।
उनले भने,‘जिल्लाका सबै स्थानीय तहका सेवाग्राहीले सेवा लिन पाउने गरी हामीले कार्यतालिका सार्वजनिक गरेका छौं । आजकै मिति देखि जारी हुनेगरि सेवाग्राहीलाई सहजढंगले सेवा प्रवाह गर्ने व्यवस्था अनुसार कामकारवाही अघि बढाइएको हो ।’

त्यस्तै सेवा लिन आउने सेवाग्राहीहरुले अनिवार्यरुपमा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ । रुखा खोकी, ज्वरो जस्ता लक्षण देखिएका सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिने सूचनामा उल्लेख छ ।

कार्यालयको भीडभाड र कोरोना संक्रमणको अवस्था अनुसार उल्लेखित तालिकामा आवश्यकता अनुसार थपघट र परिमार्जन गर्दै लगिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।

संघ-संस्था दर्ता र नविकरण आईतवारदेखि बुधवार सम्म र पत्रपत्रिका-छापाखाना दर्ता र विधान संशोधन सम्बन्धी सेवा बिहिवार र शुक्रवार मात्र दिइने सुचनामा उल्लेख छ ।

त्यस्तै सक्कल नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपी र राहदानी लगायतका सेवाहरु आईतबार हँसपुर नगरपालिका, धनुषाधाम नगरपालिका र विदेह नगरपालिका, सोमबार नगराईन नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, मंगलबार जनकपुरधाम उपमहानगरपालिका र मिथिला विहारी नगरपालिका, बुधबार जनकनन्दनी गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र औरही गाउँपालिका, बिहिबार जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टी मुसहरनीया गाउँपालिका एवं शुक्रबार कमला नगरपालिका, धनौजी गाउँपालिका र शहिदनगर नगरपालिकालाई सेवा दिईने उल्लेख छ ।

त्यस्तै शनिबार क्षीरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकाका सेवाग्राहीहरुलाई बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह गरिने सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिए ।

प्रकाशित :२३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्