कोरोनाले भरतपुर महानगरपालिका २० का वडा अध्यक्ष तामाङको निधन




चितवन : भरतपुर महानगरपालिका वडा नं.२० का अध्यक्ष मणिलाल तामाङको निधन भएको छ ।

उनको निधनप्रति महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । महानगर प्रमुख रेनु दाहालले आइतबार शोक वक्तव्य प्रकाशित गर्दै दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छिन् ।

कोरोना संक्रमणले निधन भएका वडाध्यक्ष तामाङको सम्मानमा भरतपुर महानगरपालिका र मातहतका कार्यलयले सोमबार एकदिन बन्द रहने शोक वक्तव्यमा उल्लेख छ । भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा.प्रमोद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो ।

उनलाई मधुमेह, उच्च रक्तचापको समस्या थियो । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

चितवन जिल्लामा कोरोना संक्रमणबाट पहिलो पटक जनप्रतिनिधिको मृत्यु भएको छ । ३ वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका तामाङ भरतपुर महानगरपालिका वडा नं.२० को अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : २५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्