कोरोना महामारीको कठिन घडीमा संचार जगतको प्रशंसनीय भूमिका



काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले कोरोना महामारीको कठिन घडीमा संचारजगतले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

भट्टराईले महामारीको कठिन दौरमा सरकारलाई जिम्मेवार बनाउन सूचना सम्प्रेसन गरी सञ्चारमाध्यमले यर्थातालाई जनतासमक्ष पुर्याउँदै सरकारलाई जनहित कार्य गर्न बाध्य बनाएको बताए ।

एक समारोहको उदघाटन गर्दै उनले सञ्चारजगतले खेलेको भूमिकाका कारण समाजमा न्याय व्यवस्था कामय हुन मद्दत पुग्नुका साथै लोकतन्त्र बलियो हुँदै गएको बताए । लोकतन्त्रको चौथो अंगका रुपमा रहेको संचार क्षेत्रलाई स्वतन्त्र, निष्पक्ष र आर्थिकरुपमा सवल र आत्मनिर्भर बनाउन नसकिए लोकतन्त्र कमजोर हुने खतरा रहेको नेता भट्टराईले जिकिर गरे ।

उनले संचार क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले संचारगृहमा काम गर्ने संचारकर्मीलाई आर्थिकरुपमा बलियो बनाउनेतर्फ ध्यान दिन जरुरी रहेको बताए । आर्थिकरुपमा सवल बनाउन सरकारलेसमेत पहलकदमी लिनुपर्ने उनको विचार छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी प्रदेश सरकारले ल्याएको संचार कानूनप्रति नेपाल पत्रकार महासंघको असन्तुष्टिलाई यही दशैँ र तिहारकाबीच दुई पक्षीय बैठक तथा छलफलबाट टुङ्ग्याउने प्रतिबद्धता जनाए ।

उनले संचारजगतले लोकतन्त्र तथा संघीयतालाई स्थापित गराउन खेलेको भूमिकालाई प्रदेश सरकारले उच्च मूल्यांकन गरेको बताए ।

प्रकाशित :२७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्