मुस्लिम अगुवा भन्छन् : नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ 



वीरगन्ज : नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले वीरगन्ज महानगरपालिका घेराउ गरेको छ। पार्टीका जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको नेतृत्वमा गएका नेता तथा कार्यकर्ताले १ घण्टा महानगरपालिको मुल गेटमा धर्ना दिएर कार्यालय घेराउ गरेका हुन्।

धर्मनिरपेक्ष खारेज गरी नेपाल पुन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै राप्रपा पर्साले महानगरपालिका घेराउ गरेको अध्यक्ष उपाध्यायले बताए। उनले भने, ‘हाम्रो माग पुरा नभए संघर्ष जारी नै रहने छ। कोणसभामा बोल्दै मुस्लिम संगठनका केन्द्रिय सदस्य अमर हुसैन पहवरियाले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए। अमर मुस्लिम समुदायका हुन।

‘मुलुकमा अहिले पनि अस्थिरता छ, शान्ति छैन। राजनीतिक दलहरू सत्तामा केन्द्रीत भएर भ्रष्टाचारमा लागेका छन्। यसले गर्दा जनतालाई मार परेको छ’, उनले भने,‘ मुलुकबाट धर्मनिरपेक्षता खारेज गरी हिन्दु राष्ट्र कायम नगरेसम्म र राजसस्था पुनस्र्थापना नगरेसम्म शान्ति आउँन सक्दैन। त्यसैले हामी मुस्लिम समुदाय पनि हिन्दु राष्ट्रको पक्षमा उभिएका छौं।’

कोणसभामा बोल्दै राप्रपा जिल्ला उपाध्यक्ष एवं मुस्लिम समुदायका अगुवा जहिर अन्सारीले नेपाललाई हिन्दु राष्ट्र बनाउँन सरकारसँग माग गरे। उनले भने,‘बढ्दो विदेशी धर्म प्रचारले गर्दा मुलुकनै धरापमा परेकाले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्छ र यसको लागि हामी सम्पूर्ण मुस्लिम समुदाय पनि अघि बढेका छौ।’ 

कोणसभामा पार्टीका जिल्ला महिला उपाध्यक्ष निरा झा, युवा नेता नगिना यादव, नेता सुधामा प्रसाद, शिवनारायण साह, अवधेस यादव लगायतको सहभागिता रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्