सुदूरपश्चिमलाई हराउँदै एपिएफ सेमिफाइनलमा



सर्लाही : विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) सर्लाहीमा जारी राजर्षि जनक कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सन्तोष स्मृति खेल मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम–११ लाई ४–० गोल अन्तरले हराउँदै एपिएफले अन्तिम चारमा स्थान बनाएको हो।

एपिएफका लागि खेलको २८ र ८८औं मिनेटमा प्रविप स्याङ्ताङ, ४१औं मिनेटमा सुदीप सिखराकार र ५३औं मिनेटमा प्रदीप लामाले गोल गरे। खेलमा दुई गोल गरेका स्याङ्ताङ ‘म्यान अफ दि म्याच’ घोषित हुँदै नगद १० हजार हात पारे।

एपिएफले सेमिफाइनलमा वैशाख ३ गते रुस्लान थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा शुक्रबार वीरगन्ज युनाइटेड र फ्रेण्डस क्लब काठमाडौंबीच खेल हुने आयोजकले जनाएको छ।  

सर्लाही जिल्ला फुटबल संघको समन्वयमा बागमती नगरपालिका र बागमती युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ‘ए’ डिभिजनका सहित विभिन्न १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १० लाख तथा दोस्रो हुनेले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्