कात्तिक पहिलो साता जसपाको बैठक : पार्टी एकता र कार्यविभाजनका विषय टुंग्याउने



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी सभाको बैठक डाकेको छ। कार्यविभाजन र पार्टी समायोजनको काम टुंग्याउने विषयमा आगामी कात्तिक ३/४ गते कार्यकारिणी सभाको बैठक बस्न लागेको हो।

कात्तिक ३ र ४ गते बस्ने बैठकले कार्यविभाजन र समायोजनको काम सिध्याउने तयारी रहेको जसपा कार्यकारिणीसभा सदस्य केशव झाले सूत्रन्युजलाई जानकारी दिए। पटक-पटक बैठक बस्दै सहमति नहुँदा निर्णय हुन नसकेकाले आगामी बैठकमा भने नेताहरूबीच सहमति जुट्ने बताइएको छ।

सत्तारुढ नेकपाले प्रयोग गर्दै आएको तुलसीलाल अमात्य प्रतिष्ठानमा कात्तिक ३, ४ गते बस्ने कार्यकारिणी सभाको बैठकमा छलफल गर्ने एजेण्डाहरु तय भइसकेको झाले जानकारी दिए।

‘बैठकका लागि विभिन्‍न एजेण्डाहरु भइसकेका छन्,’ झाले भने, ‘पार्टीको विधान संशोधन, केन्द्रीय समिति र संघीय परिषद्को विस्तार गर्ने, समिति तथा संघीय परिषदको कार्य विभाजनसँगै तथा समायोजनका विषयमा छलफल हुनेछन्।’

तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको हो।

प्रतिक्रिया दिनुहोस्