डाक्टरलाई हडताल रोक्न सरकारको आग्रह



काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारी चिकित्सकलाई हडताल रोकेर काममा फर्किन आग्रह गरेका छन् । समायोजनमा समस्या भए वार्ताबाट समाधान गर्न सकिने उनले बताए । 

मन्त्री बाँस्कोटाले नागरिकको औषधि उपचार नगरी हडतालमा उत्रँदा डाक्टरको मर्यादा कायम नहुने बताए । ‘औषधि उपचारको क्षेत्रमा हडताल गर्ने संस्काररसंस्कृति विकास गर्दा मर्यादा कायम रहन्छ–रहँदैन, सोच्नुपर्छ,’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मर्का परेको छ भने तथ्यपरक हुनुपर्‍यो । तथ्यपर ढंगले आएको कुरालाई सरकारले सम्बोधन गर्छ ।’

सबै सरकारी चिकित्सकलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राख्दै सरकारी चिकित्सकहरू आकस्मिकबाहेक सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा बिरामीले उपचार पाउन सकेका छैनन् ।

‘नेपालमा कुरा बुझाउनु वा बुझ्नुभन्दा अघि हंगामा पैदा गर्ने प्रवृत्ति छ,’ मन्त्री बाँस्कोटाले भने, ‘सामायोजनको क्रममा व्यावहारिक समस्या भए समाधान गर्ने दायित्व सरकारको हो ।’ उनले यो विषयमा केही दिनभिक्रै सहमति हुने विश्वास व्यत्त गरे ।

‘जहाँ जनता बस्छन्, त्यहाँ सरकारी सेवा पुग्नुपर्छ भन्ने सरकारको स्पष्ट मान्यता छ,’ मन्त्री बाँस्कोटाले भने, ‘हामीले सेतो कोट लगाएका छौं । हामी जहाँ बस्छौं, जनता उपचार गर्न त्यहीं आउनुपर्छ भन्ने मान्यता हुन सक्दैन ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्