सिक्टा सिँचाइ आयोजनाको जग्गा व्यक्तिकाे नाममा



नेपालगन्ज : भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौं मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको ५ कट्ठा १३ धुर जग्गा भूमाफिया र मालपोत कर्मचारी मिलेर व्यक्तिका नाममा गराएका हुन्।

कर्मचारीसँग मिलेर किर्ते कागज बनाई भूमाफिया खैरुल हसन अन्सारीले नौ महिनाअघि आफ्नी आमा हसरतुन निशा अन्सारीको नाममा गराएको तथ्य खुलेको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ निवासी खैरुलले सिक्टाको उक्त जग्गा नामसारीपश्चात् दृष्टिबन्धक राखेर केही रकमसमेत निकालेको पाइएको छ। उक्त जग्गामा सिक्टा सिँचाइ आयोजना कार्यालय तथा कर्मचारी निवास रहेको छ।

आयोजनाका निर्देशक कृष्णप्रसाद नेपालले कार्यालयको नाममा रहेको १० कित्ता जग्गामध्ये एउटा कित्ता बिक्री भएको पाइएको बताए। ‘करिब ६ महिनाअघि एकजना व्यक्ति नापीका कर्मचारीसमेत लिई आई यहाँ मेरो जग्गा परेको छ, २०३० सालमा किनेको हुँ, छुट्याउन आएको हुँ भनेको थियो।

यहाँ तिम्रो जग्गा हुनै सक्दैन भनेर हामीले फर्काईदिएका हौं,’ उनले नागरिकसँग भने। व्यक्तिले जग्गा भएको दाबी गरेपछि लगत्तै मालपोत कार्यालयलाई पत्र लेखेर कागजात खोज्दा एउटा कित्ता बिक्री भएको थाहा पाएको निर्देशक नेपालले सुनाए।

‘सरकारी जग्गा कसरी व्यक्तिको नाममा बिक्री भएको देखियो, हामी पनि यो विषयमा अनभिज्ञ छौं,’ उनले भने। आयोजना निर्देशक नेपालका अनुसार चार दशकअघि भूमिसुधार कार्यालयले उक्त जग्गा सिक्टालाई दिने निर्णय गरेको थियो। त्यसपछि सिक्टाको कार्यालय बस्दै आएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्