‘नेपाल भ्रमण वर्ष २०२०’ पोखराबाट



पोखरा : २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक शुभारम्भ शनिबार पोखराबाट गरिँदैछ। सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउँदै विदेशी पर्यटक आगमन अहिलेको भन्दा झण्डै दोब्बर बनाउने लक्ष्य राखेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार विदेशी पर्यटक भित्रिएको तथ्यांक छ। यो संख्यालाई दोब्बर पार्ने लक्ष्यसहित सरकारले पर्यटन वर्ष मनाउन थालेको नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यसम्पादन समिति सदस्य विप्लव पौडेलले बताए।

‘औपचारिक रुपमा नेपाल भ्रमण वर्ष शनिबार पोखराबाट सुरु हुँदैछ। अहिलेसम्म मौखिक र कागजी रुपमा केही काम भए पनि औपचारिक शुभारम्भ अब हुँदैछ,’ पौडेलले भने, ‘त्यसको तयारीमा सिंगो टिम र सरकार नै लागेको छ।’ पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि हुने भन्दै सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन थालेको उनले बताए।

‘अहिलेको आगमनलाई दोब्बर बनाउन सकियो भने त्यसले मुलुकको आर्थिक अवस्था नै उकास्छ। त्यही उद्देश्य पूरा गर्न सरकारले भ्रमण वर्ष घोषणा गरेको हो,’ उनले भने, ‘यसले मुलुककै पर्यटन क्षेत्रलाई चलायमान बनाउने र नेपालमा आउने विदेशी पर्यटकको संख्या बढाउने मात्र नभई भविष्यका लागि पनि नेपाललाई गन्तव्य बनाउने गरी प्रवद्र्धन गर्नेछ।’

पोखराबाट सुरु हुने यो अभियान देशका विभिन्न सहरमा सञ्चालन गरिने उनले बताए। नेपाल घुम्न जान उपयुक्त छ भन्ने सन्देश यो अभियानमार्फत अन्तर्राष्ट्रिय बजारसम्म फैलाउँदै आगमन बढाउने उनले बताए।

पौडेलका अनुसार नेपाल भ्रमण वर्षलाई सफल बनाउन चालु आर्थिक वर्षको बाँकी तीन महिना (वैशाख–असार)का लागि अहिले खर्च गर्न मिल्ने गरी १० करोड रुपैयाँ पनि सरकारले दिएको छ। यो रकमले तीन महिना अवधिमा प्रवद्र्धनका कामदेखि केही पूर्वाधार बनाउन सुरु हुनेछ।

‘१० करोड रुपैयाँले सिंगो अभियानलाई पुग्ने होइन। तर, अहिलेका लागि यो रकम सरकारले दिएको हो। बाँकी रकम आगामी आर्थिक वर्षमा विनियोजन हुनेछ,’ उनले भने, ‘प्रारम्भिक काम यो रकमबाट सुरु हुनेछ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्