करोडौँ रकम लिएर सञ्चालक फरार भएपछि सहकारीमा स्थानीय प्रशासनको शिलबन्दी



वीरगन्ज : सर्वसाधारणको करोडौँ रुपैयाँ लिएर सञ्चालक फरार भएपछि स्थानीय प्रशासनले वीरगन्जमा रहेको प्राइम बचत तथा ऋण सहकारी संस्थामा शिलबन्दी गरेको छ । वीरगन्जको लिंकरोडमा रहेको सहकारी संस्थामा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र बहादुर शर्माको नेतृत्वमा गएको टोलीले शिलबन्दी गरेको हो । 

जिल्ला प्रशासन कार्यालय पर्सामा करिब एक दर्जनभन्दा बढी बचतकर्ताले सहकारी कार्यालय बन्द गरेर सञ्चालक फरार भएको उजुरी दिएपछि बिहीबार सहकारीको कार्यालयमा शिलबन्दी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । अब बचतकर्ताको रकम सहकारी सञ्चालकको चलअचल सम्पत्तिबाट असुल गरिने शर्माले बताए ।

प्रहरीसहित कार्यालयमा पुगेको टोलीमा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डित र जिल्ला प्रशासन कार्यालयका अधिकृत राम दयाल यादव पनि थिए । 

संस्थाको सञ्चालक समितिमा १४ जना रहेकोमा अहिले सबै सम्पर्क विहीन छन् भने सबैको मोबाइलको स्विच अफ छ । उनीहरूले आफ्नो फेसबुक एकाउन्ट पनि डिएक्टिभ गरेको पाइएको छ । सञ्चालक समितिका अध्यक्ष राजेश कुमार पटेलको मोबाइल नम्बर ९८२४२६७४०९ मा सम्पर्क गर्दा अहिले पनि स्विच अफ छ भने कोषाध्यक्ष पटेलकी श्रीमती रिता पोखरेल पनि सम्पर्क विहीन छिन् । 

संस्थाका वरिष्ठ उपाध्यक्ष भारती गुरुङ, उपाध्यक्ष रामलक्षन तिवारी, महासचिव रुपेश कुमार गुप्ता, सचिव शिक्षा थापा र सदस्य सुमित कुमार शर्मा पनि फरार छन् । उनीहरू सबैको मोबाइल स्विच अफ गरिएको छ । बजारमा दैनिक रकम उठाउने प्रतिनिधिसँग पनि सम्पर्क हुन नसकेको सहकारीका बचतकर्ताले बताएका छन् ।

फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्