पाकिस्तानी सहर क्वेटामा बम विस्फोट हुँदा १६ मारिए



एजेन्सी : पाकिस्तानी प्रान्त बलुचिस्तानको राजधानी क्वेटामा शुक्रबार बिहान भएको बम विस्फोटमा १६ जना मारिएका छन्। क्वेटाको हजारगन्जको तरकारी बजारमा बिहान करिब ८ बजे भएको विस्फोटमा कैयौं घाइते भएको प्रहरीले जनाएको छ।

आलु गोदामबाहिर बम विस्फोट भएको थियो। बजारमा काम गरिरहेका बेला बम पड्केको थियो। प्रहरीले तरकारी बजारमा राखिएको प्रहरी भ्यानलाई निसाना बनाएर विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमसँग बताएको उल्लेख गरेका छन्।

‘आक्रमणमा मारिएका १६ जनामध्ये ८ जना हजारा समुदायका छन्’, प्रहरी डिआइजी अब्दुल रज्जाक चिमाले पत्रकारहरूसँग बताए, ‘एक जना प्रहरी जवान र ७ जना तरकारी बजारमा काम गर्नेहरू छन्।’

विस्फोटलगत्तै सुरक्षाकर्मीले विस्फोटनस्थल आफ्नो घेरामा लिएका छन्। बम डिस्पोजल टोलीसमेत घटनास्थल पुगिसकेको छ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रहरीका अनुसार हजारगन्जमा सिया समुदायको बसोबास बढी छ। बम विस्फोटका मृतक र घाइतेमध्ये अधिकांश सिया समुदायका नै रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

पाकिस्तानमा यसअघि पनि हजारा सिया समुदायका मुस्लिममाथि आक्रमण हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्