फ्राइडे रिलिज : नयाँ वर्षमा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’



काठमाडौं : शुक्रबार दुई नेपाली फिल्म रिलिज भएका छन् । नयाँ वर्षको अवसर पारेर ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ एकसाथ रिलिज भएका हुन् ।

युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको  ‘ए मेरो हजुर ३’ प्रेमकथामा आधारित फिल्म हो । फिल्ममा अनमोल र सुहानाले प्रेम र आर्याको भूमिका निभाएका छन् । कथानक अनुसार अनमोल एक स्टार गायक हुन्छन् भने सुहाना अनमोल उर्फ प्रेमकी फ्यान हुन्छिन् ।

झरना थापाले निर्देशन गरेको यो फिल्म कर्मसियल स्वाद रुचाउने दर्शकलाई मन पर्ने अपेक्षा गरिएको छ । फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका छ ।

यस्तै फिल्म ‘यात्रा’ पनि आजैबाट प्रदर्शनमा आएको छ । यसअघि ‘ए मेरो हजुर २’ बाट फिल्ममा डेब्यु गरेका सलिनमानको मुख्य भूमिका रहेको यो फिल्मलाई म्युजिकल भ्लग भनिएको छ । फिल्ममा मलिका महतले एक दृष्टिविहीन गायिकाको भूमिका निभाएकी छिन् ।

फिल्मले समाजसेवालाई विषय बनाएको छ । एक समूहले यात्रा गर्दा गर्ने रोमाञ्चक कथा फिल्ममा देख्न सकिन्छ । एड्भेन्चर फिल्म मन पराउने दर्शकले यो फिल्म मन पराउने लक्ष्य लिइएको छ । फिल्ममा सम्राट शाक्यको लेखन तथा निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्