कोरोनाले दसैँ बजार लागेन, करोडौँ घाटा



जनकपुरधाम : उपभोक्ताहरूको सुविधालाई ध्यानमा राख्दै जनकपुरधाममा प्रत्येक वर्ष दसैँ अवधिभर लाग्दै आइरहेको दसैँ बजार (सस्तो बजार) यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा विगत ४३ वर्षदेखि प्रत्येक वर्ष स्थानीय गोपाल धर्मशालामा दसैँ अवधिभर सस्तो बजार लाग्दै आइरहेको थियो । तर, यस वर्ष भने कोरोनाले सबै क्षेत्रलाई धराशायी बनाएको छ । 

घटस्थापनादेखि अष्टमीसम्म चल्ने दसैँ बजारका लागि उपभोक्ताहरू बाटो कुरेर बस्ने गरे पनि यस वर्ष भने सबैको आशा निराशामा परिणत भएको छ । बजारभन्दा सस्तो मूल्यमा दैनिक उपभोग्य सामग्रीहरू सस्तो दरमा बजारमा पाइने भएकोले प्रत्येक वर्ष यहाँ उपभोक्ताहरूको व्यापक घुइँचो लाग्ने गर्दथ्यो ।

No description available.

जनकपुरधामका व्यापारीहरूले स्थानीय गोपाल धर्मशालाभित्र दसैँमा स्टल निर्माण गरी उपभोक्तालाई  दैनिक उपभोगका सामानहरू बजार भन्दा सस्तो दरमा उपलब्ध गराउने उद्देश्यले व्यापार सङ्घको पहलमा सञ्चालनमा ल्याइएको बजार भएकोले त्यसलाई सस्तो बजार नामकरण गरिएको विगत २५ वर्षदेखि यस बजारमा अगरबत्ती र नरिवल तेलको व्यापार गर्दै आएका व्यापारी लक्ष्मी महासेठले बताए ।

 उनले भने,‘विश्वव्यापी रूपमा फैलेको कोरोना महामारीले यसपालि सबै क्षेत्रलाई लगभग सखाप जस्तै बनाएको छ । बजारमा कुनै रौनकता नै छैन । न व्यापारीलाई व्यापार गर्न पुँजी छ, न त उपभोक्तासँग पर्याप्त पैसा । हाम्रो त हाल बेहाल बनेको छ ।’

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष ललित कुमार साहले यस पटक कोरोना महामारीको समयमा सस्तो बजार लगाउँदा भिड हुने र कोरोनाको सङ्क्रमण फैलिने जोखिम भएकोले जिल्ला सुरक्षा समितिको निर्देशनमा बजार नलगाइएको जानकारी दिए ।

उनले बजार नलागेपछि यस वर्ष यहाँका व्यापारीहरू करोडौँको घाटा व्यहोर्न बाध्य भएको बताए । उनले भने,‘सर्वसाधारणहरू दसैँ बजार वाट दैनिक उपभोग्य सामानहरू वर्षभरिका लागि खरिद गरेर राख्ने गरेका थिए ।

यस हिसाबले हेर्ने हो भने सस्तो बजारका एक जना व्यापारीले घटस्थापनादेखि अष्टमीसम्ममा करिब १० लाखको कारोबार गर्थे । सबै व्यापारी मिलाएर करोडौँको टर्नअभर हुन्थ्यो । तर, यसपालिको दसैँलाई कोरोनाले खाइदियो । व्यापारीहरू लाखौँको घाटामा छन् ।’ 

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साहले कोरोना सङ्क्रमणको डरलाग्दो अवस्थालाई दृष्टिगत गर्दै यस वर्ष सस्तो बजार सञ्चालन नगरिएको बताए । उनले भने,‘सस्तो बजार अवधिभर गोपाल धर्मशाला भित्र दैनिक ५० हजार भन्दा बढी व्यक्तिको भीड हुन्छ । जनकपुरधाम लगायत नेपालमा समेत सङ्क्रमणको आँकडा डरलाग्दो छ । त्यसैले यसपालि बजार लगाइएन ।’

वरिष्ठ उपाध्यक्ष साहले कोरोनाको त्रासका कारण सस्तो बजार नलागेपछि यहाँका सैकडौं खुद्रा व्यापारीहरू बढी समस्या परेको बताए । उद्योगहरूलाई खासै असर नपरे पनि न्यून पुँजीका व्यापारीहरू सस्तो बजारमा दैनिक ५० हजारसम्मको व्यापार गर्थे तर यस वर्ष सबै चौपट भएको उनको दुखेसो छ ।

जनकपुरधामको गोपाल धर्मशालामा लाग्दै आएको सस्तो बजारबाट धनुषा, महोत्तरी, सिरहा, सिन्धुली, सर्लाही, उदयपुर तथा सीमावर्ती भारतीय क्षेत्रका जनता समेत लाभान्वित हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्