भत्काइएका जानकी मन्दिर फूलबारीको पर्खाल मंगलबारदेखि निर्माण हुने



जनकपुरधाम : जानकी मन्दिर प्राङ्गणमा अवस्थित फूलबारीको भत्काइएका पर्खालको निर्माण कार्य भोली (मंगलबार) बाट सुरु हुने भएको छ ।

सडक विस्तारको क्रममा निर्माण गरिएको पर्खाल अतिक्रमण भएको भन्दै वडाध्यक्ष र सामाजिक अभियन्ताहरुको नेतृत्वमा भदौ २८ गते भत्काइएको पर्खाल पुरानो ठाउँमै फेरी निर्माण हुन लागेको हो । गुठी संस्थान जनकपुरधामको निर्णय अनुसार मंगलबारदेखि जानकी मन्दिरको साबिकमा रहेको ठाउँमै पर्खाल निर्माण हुन लागेको गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए ।

उनले नापी कार्यालयले बुझाएको प्रतिवेदनको आधारमा नयाँ पर्खाल निर्माण हुने बताए । नापीले बुझाएको प्रतिवेदन नै पर्खाल निर्माणको प्रमुख आधार रहेको प्रमुख रेग्मीले बताए ।

जानकी मन्दिरको प्राङ्गणमा अवस्थित जानकी मन्दिरको फूलबारीको सम्बन्धमा नापी कार्यालय धनुषाले दिएको प्रतिवेदन अनुसार फूलबारी जग्गा हिनामिना हुन नपाउने गरि वाल कम्पाउण्ड लगाउन कार्यालयका प्रतिनिधि समेतको सक्रिय सहभागितामा सम्बन्धित स्थानमा गई वाल कम्पाउण्ड लगाउने कार्य सुरु गर्ने भनि असोज ३० गते बसेको भेलाबाट निर्णय भएको थियो ।

यता, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकी मन्दिर जनकपुरधामवासी मात्र नभई पूरै नेपालीका लागि आस्थाको केन्द्र रहेकोले पर्खाल निर्माण कार्यमा बिरोध नहुने विश्वास व्यक्त गरे । यस कार्यमा सबै पक्षबाट सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

त्यस्तै नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले जानकी मन्दिर जनकपुरधामवासीको सांस्कृतिक धरोहर रहेकोले यसको संरक्षण तर्फ सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए । सडक विस्तारको क्रममा जानकी मन्दिरको जग्गा अतिक्रमण गरी पर्खाल निर्माण गरिएको भन्दै त्यसको बिरोध सुरु भएको थियो ।

बिरोध भएपछि जिल्ला प्रशासन कार्यालयले सोको छानविनका लागि छानविन समिति समेत बनाएको थियो । पछी नापी कार्यालयले टोली खटाई यस सम्बन्धमा प्रतिवेदन समेत तयार पारिएको थियो ।

तर लामो समयसम्म पनि यस विषयमा गम्भिरता नदेखाइएको भन्दै गत भदौ २८ गते साँझ जनकपुरधाम उपमहानगरपालिकाकै केही वडाध्यक्ष र सामाजिक अभियन्ताहरुको नेतृत्वमा सो पर्खाल भत्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्