सरकारविरुद्ध राजपाको प्रदर्शन



वीरगन्ज : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारविरुद्ध शुक्रबार वीरगन्जमा प्रदर्शन गरेको छ। सविधान संशोधन गर्नुपर्ने, लाल आयोग प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, रेशम चौधरी लगायत आन्दोलनकारी, राजबन्दीलाई तत्काल रिहा गर्नुपर्ने, जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने लगायतका माग राख्दै राजपाले वीरगन्जमा प्रदर्शन गरेको हो।

त्यसैगरी राजपाले भ्रष्टचारी, कालोबजारी, महंगी, बेरोजगारी अन्त्य गर्नुपर्ने, राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर्नुपर्ने र राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि रोक्नुपर्ने माग गरेको छ। राजपा पर्साका अध्यक्ष प्रेमबाबु पटेलको नेतृत्वमा घण्टाघर चौकबाट निकालिएको विरोध जुलुसले वीरगन्ज नगर परिक्रमा गरेको थियो।

विरोध जुलुसका सहभागिले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए। विरोध जुलुस नगरपरिक्रमा पश्चात पुनः घण्टाघर चौकमा आएर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै राजपाका महासचिव राजेशमान सिंहले द्वन्द्वकालिन अवस्थामा १७ हजार जनताको हत्या गरेर माओवादी सत्तामा रहे पनि कारवाही नहुँने तर, मधेश र मधेशीको अधिकारको लडाईमा भएको आन्दोलनका आन्दोलनकारी रेशम चौधरीमाथि हत्याको आरोप लगाई फसाउने काम गरेको भन्दै आपत्ति जनाए। उनले तत्काल चौधरीसहित अन्य राजबन्दीलाई रिहा गर्न माग गरे। 

कोणसभामा राजपा सह–महासचिव निजामुदिन समानी, युवा नेता एवं वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष वैजु स्वर्णकार, नेता मदन यादव लगायतको सहभागिता रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्