प्रदेश २ मा जसपा र काँग्रेसका सांसदद्धारा दशैं भत्ता फिर्ता, नेकपाका सांसदहरु मौन



जनकपुरधाम : कोरोना महामारीका बेला सांसदहरुले दशैं भत्ता लिएको भन्दै आलोचना र विरोध सुरु हुन थालेपछि उनीहरुले धमाधम भत्ता फिर्ता गर्न थालेका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जनप्रतिनिधिहरुले दशैं भत्तावापतको रकम कोरोना राहत कोषमा जम्मा गर्न थालेका छन् । सोही अनुरुप प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी र नेपाली काँग्रेसका सांसदहरुले समेत दशैं भत्तावापतको रकम कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

जनता समाजवादी पार्टीको काठमाण्डौमा बसेको कार्यकारिणी समितिको बैठकले पार्टीका सबै तहका सांसदहरुले दशैं भत्तावापतको रकम कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेपछि प्रदेशमा समेत उक्त निर्णय लागु भएको छ । जनता समाजवादी पार्टीका ५५ जना प्रदेशसभा सदस्यहरुले दशैं भत्तावापतको रकम कोरोना राहत कोषमा जम्मा गर्ने भएका छन् ।

यता, नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले पनि दशैं भत्तावापतको रकम कोरोना कोषमा जम्मा गर्न पार्टीको निर्देशन आएको बताए । उनले भने,‘दशैं भत्तावापत आएको रकम कोरोना राहत कोषमा जम्मा गर्न पार्टीबाट निर्देशन आइसकेको छ । कांग्रेसका १९ जना प्रदेश सांसदहरुले यो रकम कोषमा जम्मा गर्नेछन् ।’

प्रदेशसभा सचिवालयका अनुसार सांसद र उनका स्वकीय सचिवलाई दशैं भत्तावापत असोज ३० गते नै ५७ लाख २ सय ९२ रुपैयाँ पठाइएको छ । सभामुखले ६८ हजार ४ सय ४०, उपसभामुख, विपक्षी दलका नेता र सत्ता पक्षका प्रमुख सचेतकले ६७ हजार २४ तथा सांसदहरुले ६१ हजार २० रुपैयाँ पाएका छन् ।

प्रदेश २ का सभामुख सरोज कुमार यादवले भने हिजो नै आफुले दशैं भत्तावापत पाएको ६८ हजार ४ सय ४० रुपैयाँ कोरोना राहत कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् । यता, नेकपाका संघीय सांसदहरुले दशैं भत्तावापतको रकम कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेपनि प्रदेश २ को हकमा भने सांसदहरु अलमलमा परेका छन् ।

प्रदेश २ का नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले दशैं भत्ता फिर्ता गर्नेबारे केन्द्रबाट आफूहरुलाई कुनै निर्देशन नआएको जानकारी दिए । नेता मण्डलले पार्टीका कतिपय प्रदेश सांसदहरु भत्ता फिर्ता नगर्ने मनसायमा रहेको बताए । प्रदेश २ मा नेकपाका ३२ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्