प्रदेश नम्बर १ को नामाकरण वैशाखभित्रै 



भक्तपुर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आवश्यक कानुन र संरचना तयार हुन नसक्दा तीन तहका सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको बताएका छन्।

रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिया उनले प्रदेश सरकार गठन भएको एक वर्षसम्मको अवधि अनुभवको वर्ष भएको बताए। ‘अबको वर्ष संघीयताको जग निमार्णको वर्ष हो’, उनले भने।

मुख्यमन्त्री राईले संघीयता सहजीकरण कार्ययोजना केन्द्रका मन्त्री र सचिवले कार्यान्वयन हुन नदिएको बताए। उनले अन्तरप्रदेश परिषद् बैठकले निर्णय गरेका २९ बुँदे संघीयता सहजीकरण कार्ययोजना हुन सके प्रदेश सरकारले सहज र तीव्र गतिमा काम गर्ने बताए।

प्रदेशको राजधानीको नामकरण र राजधानीको विषय विगतका समयमा केन्द्रले टुंग्याउन नसक्दा प्रदेशको थाप्लोमा भार थोपर्दा विलम्ब भएको उनको भनाइ थियो।

‘प्रदेश १ को नामकरण र राजधानीको विषय आगामी वैशाखमा टुंगो लाग्छ’, मुख्यमन्त्री राईले भने। पर्याप्त स्रोतसाधन नहुँदा स्थानीय तहमा गठन भएको न्यायिक समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको उनले धारणा राखे।

प्रतिक्रिया दिनुहोस्