अझै चलेन दशैं व्यापार, व्यापारी भन्छन्-‘दशैंले दशा निम्त्यायो’



जनकपुरधाम : नेपालीहरुको महान चाड दशैं चलिरहेको छ । विगतका वर्षहरुमा दशैंमा कोही आफ्ना गाउँघर फर्कन्थे भने कोही आफ्ना अभिभावकलाई नै झिकाउने गर्दैथे तर कोरोनाले यसपाली त्यो अवसर कसैलाई दिएन । पर्वका बेला वर्ष दिनको थकान मेटाउन कोही घरमा जमघट गर्छन् त कोही आफन्त भेटन टाढासम्म पुग्छन ।

तर गत सालहरुको तुलनामा यसपालीको अवस्था भने कठिन छ । विजयादशमी चलिरहे पनि जनकपुर बजारका व्यापारीहरुको उत्साहमा भने कमी देखिएको छ । कोरोना संक्रमणका कारण सबै किसिमको व्यापारमा प्रत्यक्ष असर परेकोले व्यवसायीहरुमा समेत उत्साह देखिएको छैन् ।

No description available.

विजयादशमीमा अभिभावकले परिवारका सम्पूर्ण सदस्यहरुको लागि नयाँ नयाँ लुगा कपडा र गरगहना तथा अन्य सामानहरु खरिद गर्छन् । अन्य वर्षहरुमा दशैं आउनुभन्दा एक साता अगाडीदेखि नै बजारमा भीड़ लाग्ने गर्दथ्यो । यद्यपि यसपटक बजारमा न त भीड छ न त व्यापारीको पसलमा ग्राहक नै ।

जानकी मन्दिर नजिक कपडा पसल सञ्चालन गर्दै आएका रामेश्वर महासेठले कोरोना संक्रमणको डरलाग्दो अवस्थाका कारण व्यापार नै पूरै चौपट्ट भईसकेको दुःखेसो पोखे । उनले भने,‘विजयादशमी आउनुभन्दा अगाडीदेखि नै हामीलाई भ्याई नभ्याई हुन्थ्यो तर यस पटक पसल नै सुनसान छ ।’

महासेठ भने अन्य वर्ष विजयादशमीमा करिव २ लाखको कपडा बेच्थे तर यसपटक कोरोना संक्रमणको अवस्थाका कारण अधिकतम ५० हजारसम्मको बिक्री हुनेमा मात्र उनी आशावादी छन् । उनी भन्छन्,‘पछिल्लो वर्ष २ लाखको कपडा बेचेको थिएँ तर यस पटक ५० हजार पनि बिक्री भए आफूलाई भाग्यमानी ठान्ने छु ।’ अन्य वर्षको तुलनामा यस वर्ष बढीमा २५ प्रतिशत व्यापार हुने उनले बताए ।

यस वर्षको दशैंमा व्यापार व्यवसायमा निकै क्षति पुगेको भैरवचोकमा दिव्या फैन्सी स्टोर सञ्चालन गर्दै आएका शंकर महासेठ बताउँछन् । लकडाउन खुलेपनि हाम्रो व्यापार नभएको उनको दुःखेसो छ । उनले भने,‘लकडाउन खुलेर पसल मात्र खोलेको छु तर दशैंमा व्यापार भने शून्य छ ।

No description available.

धनुषा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले कोरोना भाइरसको कारण व्यापारमा ठूलो असर परेको र व्यापारीहरुलाई डराउनुपर्ने अवस्था आएको बताउँछन् । ‘व्यापारलाई यो माहामारीले प्रत्यक्ष प्रभाव पारेको छ, चेम्बरका साथीहरुले व्यापारमा ठूलो नोक्सानी पुगेको कुरा हामीसँग गर्नु भएको छ,’ मिश्रले द नेपालटपसँग भने ।

यस सम्बन्धमा जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साहले व्यापारीहरुलाई अहिले बैंकको ब्याज र कोठाभाडा तिर्नपनि मुस्किल भईरहेको बताए । दशैं चलिरहेपनि पसलमा ग्राहक नै छैनन् । जनकपुर बजारमा करिव ५० करोडको क्षति पुगेको उनको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्