प्रदेश २ मा ८१ संक्रमित थपिए, १३० जना डिस्चार्ज



जनकपुरधाम : प्रदेश नम्बर २ मा आज (शुक्रबार) थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ८१ जनामा संक्रमण पुष्टि भएपछि यस प्रदेशमा संक्रमितको संख्या १५ हजार २ सय ६३ पुगेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा आज ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज (शुक्रबार) सप्तरीमा २७, धनुषामा १२, रौतहटमा ११, सिरहामा १०, पर्सामा १०, महोत्तरीमा ४, बारामा ३ र अन्य प्रदेशका ४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज थप १ सय ३० जना कोरोना संक्रमितहरु निको भई डिस्चार्ज भएका छन् ।

योसँगै निको हुनेको संख्या समेत १३ हजार २ सय २ पुगेको निर्देशनालयले जनाएको छ । आज डिस्चार्ज हुनेहरुमा महोत्तरीको ७८, बाराको ४२, पर्साको ६ र धनुषाको ४ जना रहेका छन् । शुक्रवार कोरोना संक्रमणबाट यस प्रदेशमा थप एकजनाको मृत्यु भएको छ ।

आज मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ८ का ६५ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । योसँगै यस प्रदेशमा मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ । मृत्यु हुनेमा २९ महिला र १ सय ३५ पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्