राजदेवीमा आज साँझ ७ बजेदेखि बोका बली हुने



जनकपुरधाम : जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली धेरै रस्साकसी पश्चात बोकाबली हुने निश्चित भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषा र महावीर युवा कमिटीबिच बोकाबली सम्बन्धमा लामो समयको छलफल पश्चात बोकाबली गर्न सहमति जुटेको हो ।

बोकाबली आज (शनिबार) साँझ ७ बजेदेखि हुने बताइएको छ । प्रत्येक वर्ष राजदेवी मन्दिरमा अष्टमीको राती बली प्रदान हुँदै आएको छ । अन्य वर्ष झैं यसवर्ष पनि बलिका लागि ४ वटा ठेहा बनाइएको र ठेहा व्यवस्थापनका लागि श्री राम युवा कमिटीका ६० जना तथा महावीर युवा कमिटीका १ सय जना स्वयंसेवकहरु खटाइएको महावीर युवा कमिटीका अध्यक्ष संतोषराज साहले बताए ।

उनले भक्तजनको मनोवाञ्छित फल प्राप्त भएपछि राजदेवी मन्दिरमा बोकाको बलि दिने परम्परा रहेको बताए ।

अध्यक्ष साहले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरि बोकाबली हुने जानकारी दिए । उनले भने,‘अधिकांश श्रद्धालुले बोकाबलीका लागि बोका खरिद गरिसकेकोले उनीहरूको आग्रहलाई स्विकार गर्दै आफुहरुले प्रशासनसँग पहल गरेका छौं ।’

साँझ ७ बजेदेखि सुरु हुने बोकाबली सिमित अवधिभित्रै समाप्त गर्ने आफुहरुको योजना रहेको अध्यक्ष साहले बताए । उनले बढिमा राती १० बजेसम्म मात्र बोकाबली हुने जानकारी दिए ।

यता, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले जनकपुर भन्दा बाहिरका व्यक्तिहरुलाई बोकाबलीका लागि नआउन आग्रह गरेका छन् । उनले कोरोना संक्रमणको अवस्था भयावह रहेकोले राजदेवीमा भाकल गरेकाहरुलाई राजदेवीको नाममा आफ्नै स्थानमा बलि प्रदान गर्न समेत आग्रह गरेका छन् ।

राजदेवी मन्दिरमा २०६६ सालमा ११ हजार ७ सय ९३, २०६७ सालमा १३ हजार ५ सय ५२, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०७० सालमा १४ हजार ८ सय ६१, २०७१ सालमा १४ हजार ७ सय २२, २०७२ सालमा १३ हजार ८ सय १, २०७३ सालमा १४ हजार ६ सय १७, २०७४ सालमा १२ हजार ३ सय ७, २०७५ सालमा १४ हजार ९ सय ९७ र २०७६ सालमा १४ हजार ९ सय ९७ बोकाको बलि प्रदान गरिएको थियो ।

यसअघि धनुषामा पनि कोरोना संक्रमित हुनेहरुको संख्या निरन्तर बढ्दै गईरहेकोले जिल्ला प्रशासन कार्यालय धनुषाले यस वर्ष बलीप्रदानमा रोक लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्