उपचार खर्च ७५ प्रतिशत मिनाहा भएपछि सुनिता अस्पतालबाट डिस्चार्ज



जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालमा १८ दिनअघि तिम्ल्याहा सन्तानलाई जन्म दिएकी सुनिता साह डिस्चार्ज भएकी छिन् । आर्थिक अभावका कारण अस्पतालमा उपचार खर्च तिर्न नसकेपछि उनी सन्तानसहित अस्पतालमै बसिरहेकी थिइन् । शुक्रबार अस्पतालले उपचार खर्चमा छुट दिने निर्णय गरेपछि उनी पति र सन्तानसहित घर जान पाएकी हुन् । 

नवजात शिशुको उपचार खर्च तिर्न नसकेर साह दम्पती अलपत्र बनेको समाचार द नेपालटपसहित विहिभन्न सञ्चारमाध्यमले प्रकाशित गरेपछि अस्पतालले उपचार खर्चको ७५ प्रतिशत मिनाहा गरिदिएको हो । 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले वरिष्ठ चिकित्सकहरू आकस्मिक बैठक बसेर एक लाख १४ हजार रुपैयाँ मिनाहा गरिएको जानकारी दिए । 

सञ्चारमाध्यममा समाचार प्रकाशित नहुँदासम्म अस्पताललाई यस विषयमा कुनै जानकारी नभएको डा. सिंहले बताए । सुनिताकी पति गणेशले अस्पतालमा ३८ हजार २ सय ५० रुपैयाँ बुभाएको अस्पतालले जनाएको छ ।  

सर्लाहीको ईश्वरपुर नगरपालिका–७ बयलबास खोरिया टोलका शाह दम्पतीका तिम्ल्याहा सन्तान (एक छोरा र दुई छोरी) जन्मेका थिए । चैत १२ गते जन्मिएका तीनै जनाको तौल कम भएकाले सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार गरिएको थियो ।  

तर उपचारबापतको एक लाख ५३ हजार तिर्न नसकेपछि उनीहरू अस्पतालमै बस्न बाध्य भएका थिए । 

प्रतिक्रिया दिनुहोस्