आज कोजाग्रत पूर्णिमा : दशैंको अन्त्य र तिहारको स्वागत गरिँदै



काठमाडौं : आज कोजाग्रत पूर्णिमा अर्थात आजबाट दशैंको औपचारिक अन्त्य भएको छ । दशैंको प्रतिपदाबाट पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ, यो दुर्गापक्षको समापनसँगै दशैंलाई अर्को वर्षसम्मका लागि बिदा गरिन्छ ।

अर्थात दशैंको टीका कोजाग्रत पूर्णिमाका दिनदेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरुमा राखिएका जमरा विसर्जन गरिन्छ ।

त्यस्तै कोजाग्रत पूर्णिमा, आकाशमा राति पूर्णचन्द्र उदाउने छन् र काठमाडौंको स्वयम्भू लगायतका चैत्यहरुमा राति महादीप ज्योती प्रज्जवलन गरिनेछ ।

यसैगरी आजैको दिन सायक्ङालमा महालक्ष्मीको पूजा आराधना गरि रातिमा जाग्राम बस्ने चलन रहेको छ ।

आजको दिन धनधान्य कि देवी भगवान लक्ष्मी राति पृथ्वीलोकमा भ्रमणकालागी आउनुहुन्छ, अनि जसजसले राति नसुतेर भगवान लक्ष्मीमाताको भजन भक्ति गरेर वसेका छन् उनिहरुलाई धनधान्यले कृपा दिने जनविश्वास रहेको छ ।

अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैंको अन्त्य र तिहारको शुरुवाती संकेतका रुपमा पनि लिइन्छ । विहानै सम्पूर्ण परिवारका सदस्यहरु भेला भएर भवानीको प्रसादका रुपमा टीका र जमरा लगाएर अनि जमराहरुलाई सेलाउने चलन छ ।

त्यस्तै कोजाग्रत पूर्णिमा पछि सुरिलो वाँसलाई काटेर त्यस्को टुप्पामा रंगीन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कात्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे वत्ति वाल्ने चलन छ, खुल्ला निलो आकाशमा ओर्लदै गरेको चन्द्रमा अनि वाँसको टुप्पामा वलेको आकाशे वत्ति एकदमै आकर्षक दृश्य हुने गर्दछ ।

यसैगरी तराई–मधेशतिर भने आजको दिन कौडा खेल्ने चलन छ, कौडा एकप्रकारको जूवा जस्तै हो, साना साना कौडाहरुलाई हातले खालमा फालेर त्यस कौडाहरुको उल्टाई र फर्काईको संभाब्यताका आधारमा पैसा वाजीमा लगाइन्छ । आजका दिन तराईका अधिकांश गाँउहरुमा ठूलो स्वरले माररा भन्दै कराउँदै रातभरि जाग्राम बसेर कौडा खेल्ने चलन पनि छ । यसैवर्ष विवाह भएका नवदम्पतीहरुलाई भनेँ वेहुलाको घरमा बेहुलीका तर्फबाट ब्यञ्जनहरु पठाउने चलन छ, यस्ता ब्यञ्जनहरुमा मिठाई, भोजन, दही लगायतका परिकारहरु अनि वेहुली गाउमा बनाएको पान पनि पठाइन्छ ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्