करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु



जनकपुरधाम : महोत्तरीमा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट जिल्लाको पौराह नगरपालिका बसन्पट्टी बस्ने ४५ वर्षीय गौरी पण्डित रहेको बताइएको छ ।

विद्युतिय लाईन मरम्मत गर्न आज (शनिबार) बिहान पोलमा चढेका विद्युत प्राधिकरण बर्दिबास महोत्तरीमा ज्यालादारी कर्मचारीको रुपमा कार्यरत पण्डितको करेन्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको छ।

उनी विगत १० वर्षदेखि नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्र अन्तर्गत बर्दिबास फ्यूज शाखामा कार्यरत रहेका थिए। बर्दिबास नगरपालिका वडा नम्बर-१ स्थित लाईन मरम्मत गर्न पोलमा चढेपछि उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल पुर्‍याइएपनि त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा ल्याइएको थियो । यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्