प्रचण्डले पुनः ओलीसँग सम्वाद गर्नुपर्छ : प्रवक्ता श्रेष्ठ



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गर्नुपर्ने बताएका छन् ।

सोमबार आफ्नै निवासमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले सो कुरा बताएका हुन् । उनले पार्टी भित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्नको लागि भएपनि अध्यक्ष प्रचण्डले नै प्रधानमन्त्री ओलीसँग सम्वादका लागि पहल गर्नुपर्ने बताएका हुन् ।

आइतबार प्रचण्डले ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनैपनि अवस्थामा बचाउन फेरि एकपटक सम्वाद गर्नुपर्ने सुझाव दिएको उनले बताए ।

‘हामीले के भन्यौँ भने हामीले ठूलो मेहनेत गरेर पार्टी एकता गरेको हो । नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्ने, समाजिक आर्थिक रुपान्तरण गर्ने, समाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने, समाजवादको आधार तयार पार्ने र अन्ततः समाजवादमा जाने उद्देश्यले पार्टी एकता गरिएको हो,’ उनले भने–‘त्यसैले ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न । हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ । प्रयत्न नै गर्नुपर्छ । त्यसकारणले अध्यक्ष प्रचण्डले फेरि एकचोटी अध्यक्ष केपी ओलीसँग कुराकानी गर्नुहोस्, बैठक बसौँ भनेर बैठक राख्ने नै प्रयत्न गरौँ। बैठक राखेर सबैपाटापक्षमा छलफल गरौँ, खुला ढंगले छलफल गरौँ र पार्टी एकताको निम्ति प्रयत्न जारी राखौँ, पार्टी एकता कायम गर्नैपर्छ त्यसको निम्ति पहल गरौँ भनेर हामीले भनेका हौँ । त्यसपछाडि उहाँहरुको कुराकानी भएको स्थिति छैन ।’

प्रकाशित : कात्तिक १७, २०७७

प्रतिक्रिया दिनुहोस्