धनुषामा पाँच मिनेटकै अन्तरालमा पति पत्नीको मृत्यु



जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकामा पतिको मृत्यु भएको पाँचमिनेट नबित्दै पत्नीको समेत मृत्यु भएको छ । आज (सोमबार) शहिदनगर नगरपालिका वडा नम्बर–१ कुम्भकर्ण टोलाका ९१ वर्षीय रामखेलावन यादवको बिहान ७ बजेर ४५ मिनेटमा र उनकी पत्नी ८८ वर्षीया सुमिन्त्रादेवी यादवको ७ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

बिहान उठेरसँगै चिया खाएका दुबैजना मध्ये रामखेलावनले आफुलाई एक्कासी छाती दुखेको कुरा आफ्ना छोरालाई जानकारी गराए । लगत्तै उनका छोरा उपेन्द्र यादव नजिकैको पसलमा औषधि लिन गए । उनी औषधी लिन गएको ५ मिनेट नबित्दै रामखेलावनको बिहान ७ः४५ बजे मृत्यु भयो । श्रीमानको मृत्यु भएको देखेर सुमिन्त्रादेवी अचेत भइन् । ५ मिनेटकै अन्तरालमा ७ः५० बजे पत्नी सुमिन्त्राको पनि मृत्यु भएको स्थानीय नरेश यादवले जानकारी दिए ।

उनका छिमेकी नरेशले भने,‘हामी सबै अच्चमित भयौं, एकैपटक श्रीमान् श्रीमतीको मृत्यु भएकाले एउटै चितामा अन्त्येष्टि गरिएको छ ।’ श्रीमान श्रीमतीको एकैपटक मृत्यु भएपछि स्थानीयहरु आश्चर्यचकित भएका छन् ।

प्रकाशित : कात्तिक १७, २०७७

प्रतिक्रिया दिनुहोस्