पतारी पोखरीमा निःसन्तान दम्पतीको घुइँचो



जनकपुरधाम : सिरहाको लक्ष्मीपुर गाउँपालिकास्थित पतारी पोखरीमा निःसन्तान दम्पतीको घुइँचो लागेको छ । सन्तान प्राप्त गर्न नसकेका विवाहित महिलाहरू  सन्तान प्राप्तिको आसमा पोखरीमा डुबुल्की मार्न पुगेका हुन् ।

प्रत्येक वर्ष वैशाख २ गते पोखरीको डिलमा मेला लाग्छ । पूर्व–पश्चिम राजमार्गको धनगढी बजारबाट करिब १० किलोकमिटर दक्षिणमा पर्ने लक्ष्मीपुर गाउँपालिका ३ स्थित सो पोखरीमा नुहाउँदा निःसन्तान महिला गर्भवती हुने जनविश्वास छ । 

सो पोखरीमा नेपालका विभिन्न जिल्लासहित भारत विहारको पटना, मधुवनी, दरभंगा, जयनगरलगायत स्थानबाट निसन्तान दम्पती आउने गर्छन् । पोखरी करिब १० बिघा क्षेत्रफलमा फैलिएको छ । 

पोखरीको दक्षिणी किनारमा अवस्थित मन्दिर (गहवर)को पूर्वी ढोकामा अघिल्लो दिन साँझदेखि निरन्तर निराहार बस्ने प्रचलन छ । वैशाख २ गते बेलुका मन्दिरमा हुने विशेष आराधनाको अक्षता लिएर पोखरीमा हाम फाल्नुपर्ने मान्यता रहेको छ ।

त्यसरी हाम फालेपछि पोखरीमा पहिलो डुबुल्कीमै पानीभित्र कुनै पनि जीव भेटिए सन्तान हुने जनविश्वास छ । घर पुगेपछि पानीबाट ल्याएको जीवलाई जन्तर बनाएर महिलाले आफ्नो पाखुरा या घाँटीमा मालाको रूपमा लगाउने प्रचलन छ । 

यो पोखरी वि. सं. १३२५ तिरदेखि अस्तित्वमा रहेको मानिन्छ । लोकनायक सलहेश गाथामा यो पोखरी पकडियाका राजा कुलेसरका कान्छा भाइ हरिसिंह देवको निवास नजिक रहेको उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्