‘दाल भात तरकारी’को टोली दाङमा



दाङ : वैशाख २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दाल भात तरकारी’को प्रमोशनका लागि चलचित्र युनिट देश दौडाहमा निस्किएको छ। पूर्व झापादेखि प्रमोशन यात्रा सुरु गरेको चलचित्र युनिट सोमबार दाङ आइपुगेको छ।

निर्माता किरण केसी, लेखक तथा कलाकार हरिवंश आचार्य, कलाकारहरू शिवहरी पौडेल, पुष्प खड्का, आचल शर्मा र जुनु रिजाल काफ्ले चलचित्र प्रचार प्रसारका क्रममा जिल्ला आइपुगेका हुन्। उनीहरूले सोमबार घोराहीमा कन्सर्ट गरेका छन्।

चलचित्रको ब्यापक प्रचार प्रसारका लागि आयोजना गरिएको कन्सर्टमा चलचित्रका बारेमा जानकारी सहित मनोरन्जनात्मक प्रस्तुती राखिएको थियो। यसैबीच फिल्मका निर्माता किरण केसीले चलचित्र विशुद्ध पारिवारीक घटनामा आधारित रहेको बताए।

चलचित्र पत्रकार संघ दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले चलचित्रमा वैदेशिक रोजगार सम्वन्धी बिषयलाई उठान गरिएको बताए। उनले भने, ‘विदेशमा गए पनि दालभात तरकारी खाने हो, नेपालमै रहे पनि दालभात तरकारी खाने नै हो, यसर्थ विदेश जाने लहड कति सहि वा गलत ? भन्ने सन्देश चलचित्रमार्फत दिन खोजेका हौँ।’

यसैगरी चलचित्रका लेखक तथा कलाकार हरिवंश आचार्यले नेपाली चलचित्रको बजारमा दालभात तरकारी पृथक चलचित्र बनेको दाबी गरे। आम नेपालीको सत्यकथालाई आफूले चित्रण गरेको भन्दै यो चलचित्र सबै नेपालीहरूको आफ्नो चलचित्र बन्ने विश्वास व्यक्त गरे। 

कलाकार शिवहरी पौडेलले हास्यकलाकाहरू ‘चलचित्रका जोकर’ मात्रै हुन् भन्ने भनाई पछिल्ला चलचित्रहरूले तोडेको भन्दै हास्यकलाकार पनि नायक सरह पर्दामा उभिन सक्छन् भन्ने अर्को बलियो सन्देश यो चलचित्रले प्रष्ट पार्ने बताए।

मह सञ्चारको ब्यानरमा निर्मित यो चलचित्र झण्डै दुई करोड लागतमा निर्माण भएको निर्माता केसीले जानकारी दिए। हाल दुईवटा गीत सार्वजनिक यो चलचित्रका दुईवटै गीतले चलचित्रको प्रचार प्रसारमा राम्रो भुमिका खेलेको निर्माण पक्षले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्