राजर्षि जनक कप : झापा ११ लाई हराउँदै भुटानको पारो एफसी सेमिफाइनलमा



सर्लाही : भुटानको पारो एफसी सर्लाहीमा जारी तेस्रो राजर्षि जनक कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सन्तोष स्मृति खेल मैदानमा सोमबार भएको खेलमा झापा–११ लाई ३–० ले पराजित गर्दै पारो अन्तिम ४ मा प्रवेश गरेको हो।

१० खेलाडीमा सीमित पारोको जितमा ३१ औं मिनेटमा फुब थिन्ले, ४८ औं मिनेटमा दिनेश गुरुङ्ग र ६३औं मिनेटमा एलोन म्याक्सवेलले गोल गरे। खेलको ७ औं मिनेटमा झापाका शक्ति राईलाई फल गरेपछि पारोका जिग्मे छिरिङ्ग दोर्जीलाई रेफ्री सुदिष पाण्डेले सिधै रातोकार्ड देखाएका थिए।

१० खेलाडीमा सीमित भुटानी क्लबविरुद्ध झापाले फाइदा उठाउन नसक्दा क्वाटरफाइनलबाटै बाहिरिन बाध्य भयो। खेलको ‘म्यान अफ दि म्याच’ पारोका निमा छिरिङ्ग घोषित हुँदै नगद १० हजार हात पारे। अब भुटानी टोलीले फाइनल प्रवेशका लागि वैशाख ४ गते बागमती नगरपालिकाको टिमसँग खेल्नेछ।

प्रतियोगितामा मंगलबार रुस्लान थ्री स्टार क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) बीच प्रतिस्पर्धा हुनेछ। बागमती युवा क्लबद्वारा आयोजित प्रतियोगितामा ‘ए’ डिभिजनकासहित विभिन्न १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १० लाख तथा दोस्रो हुनेले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्