ज्येष्ठ नागरिक र एकल महिलाले सुरक्षा भत्ता पाएनन्



वीरगन्ज : वीरगन्ज महानगरमा रहेका ज्येष्ठ नागरिक र एकल महिलाले सामाजिक सुरक्षा भत्ताको रकम समयमा नपाएका कारण सास्ती खेप्नु परेको गुनासो गरेका छन् । सरकारले स्थानीय तह मार्फत ज्येष्ठ नागरिकलाई प्रति महिना दुई हजार र एकल महिलालाई प्रति महिना एक हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

सामाजिक सुरक्षा भत्ताको रकम अर्थमन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै स्थानीय तहमा निकासा गर्ने गरेको छ । स्थानीय तहले उक्त भत्ता रकम हरेक चार–चार महिनामा कृषि विकास बैंक मार्फत ज्येष्ठ नागरिक र एकल महिलालाई वितरण गर्दै आएको छ ।

तर गत आर्थिक वर्ष देखि भने वीरगन्ज महानगरका ज्येष्ठ नागरिक र एकल महिलाहरूले नियमित रूपमा सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । महानगरका ज्येष्ठ नागरिक र एकल महिलाले गत चैत महिनामा एक चौक मासिकको मात्र रकम लिएको बताएका छन् । 

वीरगन्ज महानगरपालिका ३१ की एकल महिला लक्ष्मी अर्यालले २०७४ सालको चैतमा दुई चौमासिकको गरी आठ हजार बैंकबाट झिकेको र त्यसपछि गत चैतको अन्तिम सातामा फेरि एक चौमासिकको चार हजार मात्र लिएको बताइन् । गत वर्षको बाँकी रहेको आठ हजार र चालु आर्थिक वर्षको दुई चौमासिकको आठ हजार गरी कुल १६ हजार पाउनु पर्ने भए पनि चार हजार मात्र पाएको उनको गुनासो छ ।

रकम झिक्न जाँदा बैंकका कर्मचारीले महानगरपालिकाले खातामा रकम नै नपठाएको जवाफ दिने गरेको उनीहरूको गुनासो छ । 

महानगरपालिकाको सामाजिक विकाश महाशाखा प्रमुख अरुण कुमार महतोले विविध कारणले लाभग्राहीको खातामा भत्ता रकम समयमा पठाउन नसकिएको बताए । कर्मचारीको आन्दोलन, हडताल, समायोजन लगायतका कारणले बैंकमा रकम निकासा गर्न समस्या भएको उनको भनाइ छ ।

महाशाखाको पछिल्लो तथ्यांक अनुसार, महानगरका ३२ वटै वडामा गरी चार हजार नौ सय १४ ज्येष्ठ नागरिक र तीन हजार सात सय ८६ एकल महिलाले सामाजिक सुरक्षा भत्ताको सुविधा लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्