फागुनमा काँग्रेसको १४औँ महाधिवेशन नहुने निश्चित



काठमाडौं : आगामी फागुनमा हुने भनिएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नहुने भएको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि जारी पदाधिकारी र पूर्वपदाधिकारीहरुको अनौपचारिक छलफलका क्रममा शीर्ष नेताहरुबीच महाधिवेशनको मिति सार्ने सहमति भएको हो ।

महाधिवेशन सार्ने महमति जुटेपनि कहिले गर्ने भन्ने टुंगो लागेको छैन ।

सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिकामाथि छलफल गर्ने कार्यसूची रहको छ ।

काँग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी केन्द्रीय महाधिवेशनको कार्यतालिका बनाएको थियो । तर, कोरोना महामारीका कारण पूरा गर्नुपर्ने पूर्वतयारीको काम हुन सकेको छैन ।

पुस पहिलो हप्तादेखि तल्ला तहको अधिवेशन हुने कार्यतालिका भएपनि अहिलेसम्म मतदाताकै टुंगो लगाउन सकेको छैन ।

त्यसमाथि सभापति शेरबहादुर देउवामाथि १४औँ महाधिवेशन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपले हुने विश्वासको वातावरण नरहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदस्यले १६बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

केन्द्रीय समितिको बैठकअगावै १६ बुँदेमा सहमति जुटाएर मात्रै महाधिवेशनबारे केन्द्रीय समितिमा छलफल गर्न सकिने पौडेल पक्षको दबावपछि सभापति देउवाले केन्द्रीय समिति बैठक स्थगित गरेर विवादित मुद्दाहरूमा सहमति र पार्टीभित्र विश्वासको वातावरण बनाउने कसरत जारी राखेका छन् ।

सहमति खोज्न शनिबार पाँचौँ पटक बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकसमेत निष्कर्ष विहीन भएको छ ।

आज पनि पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक छलफल जारी रहने काँग्रेसले जनाएको छ ।

प्रकाशित : कात्तिक २३, २०७७

प्रतिक्रिया दिनुहोस्