विदेशबाट साढे २ अर्बको भाई मसला आयात



काठमाडौं : तिहार नजिकिएसँगै चहलपहल शुरु भइसकेको छ । प्रमुख बजारमा तिहारका सरसानाले भरिभराउ हुन थालेका छन् ।

त्यसोत तिहारमा भाई मसलाको बढी खपत हुन्छ । काजु, किस्मिस, पिस्ता, बदाम, नरिवल, छोकरा लगायत भाई मसलाको रुपमा प्रयोग गरिन्छ । तर, यी सबैजसो विदेशी उत्पादन हुन् ।

नेपालमा तीन महिनामै साढे २ अर्बको भाई मसला आयात भएको छ भने नेपालमै उत्पादन हुने ओखरसमेत विभिन्न देशबाट करिब १७ करोड ल्याइएको छ ।

तिहारमा खासगरि काजु, पिस्ता, किस्मिस, बदाम, छोकरा, नरिवल लगायत खानेकुरा भाई मसलाको रुपमा प्रयोग हुने भएकाले उपभोक्ता ती सामग्री किनको लागि बजार जान थालिसकेका छन् ।

तर, सामान्य अवस्थामा तिहार अगाडि उपभोक्ताको थेगिनसक्नु भिड लाग्ने गरेकोमा यस वर्ष कोरोना महामारीले त्यति भिड छैन ।

भाई मसला किन्न सबैभन्दा धेरै भिडभाड हुने असन क्षेत्रका व्यापारी यसवर्ष विगतका वर्षमा जस्तो व्यस्त नभएको बताउँछन् ।

‘यस वर्ष विगतका वर्षमा भन्दा निकै कम छ,’ असनमा व्यापार गर्दै आएका एक व्यापारिले बताएका छन् ।

‘तिहार शुरु भएकाले अलिअलि मानिसहरु आउँछन् । तर, सोचे अनुसारको आम्दानि भने छैन,’ ती व्यापारीले भने–‘विगतका दिनमा यतिबेला फुर्सद नै हुँदैन थियो । तर, अहिले फुर्सदमा छौँ । भोलि, पर्सि अलि व्यापार होला की ?’

तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाईलाई भाई मसला दिने चलन छ । भाई मसलाका रुपमा प्रयोग हुने खानेकुरा भने सबैजसो विदेशबाट ल्याइन्छ । यो आर्थिक वर्ष अर्थात साउनयता तीन महिनामा मात्रै दुई अर्ब ४६ करोड रुपैयाँको भाई मसला आयात भएको छ ।

भारताबाट एक अर्ब २० करोड, अमेरिकाबाट ३४ करोड, इण्डोनेसियाबाट २५ करोड र चीनबाट १९ करोडको भाई मसला आयात गरिएको भन्सार विभागको तथ्यांक छ ।

नेपालमा उत्पादन नहुने सामान विदेशबाट ल्याउनु स्वभाविकै हो । तर, भाई मसलाकै रुपमा प्रयोग हुने ओखर समेत विदेशबाटै ल्याइन्छ ।

तीन महिनामा १६ करोड ७८ लाख रुपैयाँ तिरेर ५ लाख २० हजार किलो ओखर चीनदेखि चिल्लोसम्मबाट ल्याइएको छ ।

भाई मसलामा धेरै प्रयोग हुने काजु गएको तीन महिनामै ३७ करोड रुपैयाँको ल्याइएको छ । यी मसलाहरु भारत, चीन, चिल्ली, अमेरिका र इण्डोनेसिया लगायतका देशहरुबाट आउँछ । त्यस्तै बदाम २९ करोड, नरिवल २२ करोड, सुकुमेल १० करोड र छोकडा ३ करोड रुपैयाँको आयात गरिएको छ ।

तर, कोरोना संक्रमणको जोखिमले बजारमा उपभोक्ताको चाप न्यून भएकाले व्यापारीले अघिल्ला वर्षमा जस्तो मूल्य बढाएका छैनन् ।

प्रकाशित : कात्तिक २४, २०७७

प्रतिक्रिया दिनुहोस्