गुराँसै फुल्यो वनैमा …



ओखलढुङ्गा : यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ। विभिन्न प्रजातिको रङ्गीविरङ्गी गुराँसले वन सुन्दर बनाएको छ भने आगन्तुकलाई लालायित पार्ने गरेको छ। गुराँस फुल्ने मौसम भएकाले फूलसँग रमाउन नेपालका विभिन्न जिल्लामा आन्तरिक पर्यटक पुग्ने गरेका छन्। 

बोटभरि ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षिक हुने भएकाले हरेकको मन तान्ने गरेको छ। अघिल्लो साता ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको मैदाने जङ्गल गुराँसले वन नै राताम्मे थियो। विभिन्न प्रजातिका गुराँसमा पर्यटक रमाउँदै थिए। 

ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङिवाङ्ङ्मिा शेर्पाले फाप्रेको सिरानमा रहेको मैदाने जङ्गल पर्यटकीय हिसाबले पनि आकर्षक क्षेत्र रहेको बताए। उनले सो क्षेत्रसहित पिके डाँडा र खिजीलाई जोडेर पर्यटन विकासमा लागेको जानकारी दिए। भिन्न थरिको रङका गुराँसले वन नै रङ्गीचङ्गी भएर ढकमक्क भएको देख्दा जो सुकैलाई गीत गुनगुनाउन मन लाग्थ्यो। 

गुराँसै फुल्यो वनैमा…

मेरो मन झुल्यो

तिम्रो मनैमा…

नेपालमा ३२ प्रजातिका गुराँस अभिलेख छ। पूर्वी नेपालदेखि पश्चिमसम्मै पाइन्छ गुराँस। पूर्वी नेपालमा सबैभन्दा धेरै फुल्छ। पाँचथर, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत जिल्लाका उच्च क्षेत्र यतिबेला गुराँसले ढकमक्क छ।

हुन त तराईका उच्च भेगतिर पनि गुराँस फुल्छ। एक पर्यटक पथप्रदर्शक तेण्डु शेर्पाले गुराँस हिमाली तथा उच्च पहाडी क्षेत्रको शोभा भएकाले यसको संरक्षण गरेर पर्यटनसँग जोड्नु पर्नेमा खाँचो औँल्याए। 

तेह्रथुमको तीनजुरे, सङ्खुवासभाको जलजले र ताप्लेजुङको मिल्के (तीनजुरे–मिल्के–जलजले) क्षेत्र त गुराँसको राजधानी नै हो। करीब २५ प्रजातिका गुराँस पूर्वमा पाइन्छ भने पश्चिम नेपालमा पाँच प्रजातिका पाइन्छन्। मध्यभागमा आठदेखि १० प्रजातिका गुराँस भेटिन्छ। ताप्लेजुङको तोक्गोलालगायत तीनजुरे, मिल्के, जलजला क्षेत्रमा सबैभन्दा बढी गुराँस पाइने भएकाले सरकारले संरक्षण गरिरहेको छ।  

जलजले हिमाली क्षेत्रमा बढी गुराँस पाइने वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राईले बताए। सरकारले तीन–जुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँस संरक्षण क्षेत्रको रुपमा घोषणा गरेर संरक्षण गर्दै आएको छ। एक हजार ५०० मिटरदेखि तीन हजार मिटरसम्ममा बढी नेपालको राष्ट्रिय फूल लालीगुराँस पाइन्छ। तीन हजारमाथिको क्षेत्रमा अरु प्रजातिका गुराँस भेटिने राईले बताए। 

रोडोडेन्ड्रोन लौन्डेसी र रोडोडेन्ड्रोन क्वानियानुम नेपालमा मात्र पाइने प्रजाति हो। लौन्डेसी मुस्ताङ र फोक्सुण्डो ताल आसपास क्षेत्रमा पाइन्छ। क्वानियानुम भने चार हजार ५०० मिटरमाथि मनास्लु हिमाल क्षेत्रमा पाइने वनस्पति विज्ञले बताएका छन्।

प्रजातिअनुसार फरक फरक समयमा फुल्ने गुराँस समयानुसार एउटा सकिएपछि अर्को गरी लगभग वर्षेभरि देखिने गर्छ। तल्लो भेगमा माघ, फागुनमा फुल्छ भने र माथिल्लो भेगमा दुई हजारदेखि तीन हजार ५०० मिटर क्षेत्रमा वैशाखमा फुल्ने गर्छ। जेठ असारमा भने तीन हजार ५०० मिटरमाथि मनसुन सक्रिय भएका बेलामा फुल्ने गर्छ।

नेपालको राष्ट्रिय फूल लालीगुराँस भने माघदेखि वैशाखसम्म फुल्ने गर्छ। लालीगुराँस अन्य फूलभन्दा हेर्दा आकर्षक र मनमोहक लाग्छ। विभिन्न प्रजातिमध्ये रोडोडेन्ड्रोन ग्राण्डे सबैभन्दा ठूलो फूल हो। यस फूलको आकार झण्डै मान्छेको टाउको बराबरको हुने महानिर्देशक राईले बताए। सामान्यतः अरु गुराँसभन्दा लालीगुराँसको फूल ठूलो हुन्छ। 

मुख्यतः लालिगुराँस, चिमाल, सुनपाती, कोर्लिङगर, सेतो, चिमाल, रातो चिमाल, सेनो सुनपाती, भाले सुनपाती, झुसे चिमाल, पहँले चिमाल, रधु, खियाउने पाते गुराँसलगायत मुख्य प्रजाति हुन्। विभिन्न क्षेत्रमा अहिले महोत्सव नै गरेर गुराँस संरक्षण गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्ने गरिएपछि इन्धनका लागि यसको रुख काट्न क्रम भने बढ्दो रहेको छ। 

गुराँसको पात विषालु

सबै गुराँसका पात भने विषालु हुने वनस्पति विज्ञले बताएका छन्। गुराँसको फूलबाट बनेको महसमेत विषालु नै हुने महानिर्देशक राईले बताए। गुराँस र अङ्गेरीको रस चुसेर मौरीले मह बनाएको रहेछ भने त्यसले मात लाग्ने उनले बताए।

गुराँसको पालुवा आएका बेलामा गाईवस्तुले खायो भने मर्ने उनको भनाइ छ। पछिल्लो समयमा गुराँसको जुस बनाएर खाने चलन भएको भन्दै उनले यसको विषादीका बारेमा भने परीक्षण नभएकाले जुस बनाएर खान विभागले सिफारिस नगर्ने बताए।

गाउँमा माछाको काँडा अड्किएको बेलामा गुराँस खाने चलन छ। घाँटी दुखेको बेलामा पनि गुराँसको फूल खाने गरिन्छ। ओखलढुङ्गाका स्थानीय भने लालीगुराँसबाहेक अन्य रङ्का गुराँस विषालु हुने भएकाले नखान सल्लाह दिन्छन्।

प्रतिक्रिया दिनुहोस्