पार्टीभित्र विवाद बढिरहेको बेला प्रधानमन्त्री ओलीको संखुवासभा यात्रा



विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जिल्ला जाँदैछन् । प्रधानमन्त्री ओली बुधबार बिहान १० बजे संखुवासभा पुग्ने कार्यक्रम रहेको छ ।

पार्टीभित्र विवाद बढिरहेको बेला उपत्यका बाहिर निस्किएका प्रधानमन्त्री ओलीको विशेष कार्यक्रम भने छैन । तर, प्रधानमन्त्री ओलीले सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

दोस्रो पटक मृगौला प्रत्यारोपण पछि उपत्यका बाहिर ननिस्किएका प्रधानमन्त्री ओली संखुवासभामा तीनवटा कार्यक्रममा सहभागी हुने छन् ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार पहिलो कार्यक्रम भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा राखिएको छ ।

ओलीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गर्नेछन् । त्यसपछि स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल गर्नेछन् ।

किथामाङ्काबाट १०ः३६ मा भोटखोला ३ मा पर्ने च्याम्ताङ भन्ने स्थानमा जानेछन् । च्याम्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्नेछन् । त्यसपछि स्थानीय र जनप्रतिनिधिसँग प्रधानमन्त्री ओलीले छलफल गर्नेछन् ।

त्यसलगत्तै प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने छन् । मकालु गाउँपालिका–५ मा पर्ने फ्याक्सिन्दामा आयोजनाको ड्यामको निरीक्षण पछि प्रधानमन्त्री ओलीले निर्माणको प्रगतिबारे ब्रिफिङ सुन्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

जलविद्युत परियोजनाको निरीक्षण पछि प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसँग छलफल र जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनेछन् ।

फ्याक्सिलाबाट ३ः३० मा प्रधानमन्त्री ओली काठमाडौं फर्कने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

प्रकाशित : कात्तिक २६, २०७७

प्रतिक्रिया दिनुहोस्