‘अब सिंहदरबार घेर्छाै र निर्णायक आन्दोलन गर्छाै’



उखुको रकम भुक्तानी भइसकेको होइन र ? तपाईहरु फेरि काठमाडौं आइपुग्नुभएको छ किन ?
– पहिला माघ ७ गतेभित्र पूर्ण भुक्तानी गर्ने भनेर लिखित सम्झौता भएको थियो । तर, त्यो सम्झौता कार्यान्वयन भएनन् । त्यसपछि हामीले आफ्नै गाउँमा कालो पट्टी बाँधेर काम गर्यौ । भोकै बसेर काम गर्न थाल्यौ । यति गर्दा पनि सरकारले हाम्रो समस्या सुनेन ।

त्यसपछि हामीले २०७६ चैत ४ गते फेरी आन्दोलन गर्न काठमाडौं आयौं । सोही दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यदलको बैठक बस्यो । मन्त्रालयमा प्रतिवेदन पनि तयार भयो । त्यो प्रतिवेदन लागू हुँदा किसान र उद्योगी दुवैलाई सहज हुन्छ । सरकारले दिगो समाधानका लागि राम्रै सोचेको थियो । तर, त्यो कार्यान्वयन हुन सकेन । र हामीले पूर्णरुपमा भुक्तानी पनि पाएका छैनौ । रौतहटको श्रीराम सुगर मिल्सलाई यो आन्दोलनबाट केही प्रभाव परेनन् । कुनै किसानलाई एक रुपैयाँ पनि दिएको छैन ।

रौतहटको श्री राम सुगर मिल्स सञ्चालनमा छ त ?
– छैन अहिले सञ्चालनमा । गत वर्ष सञ्चालनमा थियो, तर किसानले उखु दिएनन् । दुई दिन सञ्चालन भयो त्यसपछि बन्द भयो ।

त्यसो भए मिलका सञ्चालकसँग कुनै सम्वाद भएको छ कि ?
– कुनै प्रकारको कुराकानी भएको छैन । अहिलेसम्म सञ्चालकले उखु किसानले के गरिरहेका छन् त्यसको कुनै मतलब नै गरेका छैनन् ।

श्री राम सुगर मिल्सबाट कति भुक्तानी लिन बाँकी छ ?
– ४० करोड लिन बाँकी छ ।

गत वर्ष पुसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको उपस्थितिमा एक महिनाभित्र भुक्तानी गर्ने सम्झौता उखु किसान र उद्योगीबीच भएको थियो नि ? हिजो फेरी मन्त्रालय गएर स्मरण पत्र बुझाउनु भयो । उहाँले पुरानै आश्वासन दोहोर्याउनु भयो नि ?
– उद्योग मन्त्रीले हामीलाई प्रष्ट रुपमा के भन्नुभयो भने–मैले गृह मन्त्रालयलाई पत्राचार गर्या छु । सचिवजीले मौखिक पक्राउको आदेश दिनुभएको छ भन्नुभयो ।

अन्नपूर्ण मिलका सञ्चालक विद्युत ‘क’ वर्गको ठेकदार पनि हुनुहुन्छ । उहाँको विद्युतका धेरै कारोबार छ । उहाँको खाता बन्द गर्छु । अनि तपाईहरुको पैसा भुक्तानी गराउँछु भनेर भन्नुभयो । तर, हामीले कालो पट्टी बाँधेर काम गरेको बेला अन्नपूर्ण मिलबाट आउने पैसा सबै पहिला किसानको खातामा जान्छ । अनि त्यसको छुटकारा पाइन्छ । नत्र उहाँको खाता बन्द नै रहन्छ भनेर त भन्यो । तर, एक वर्ष बित्दा पनि पैसा पाएका छैनौ । त्यही भएर सरकारप्रति हाम्रो विश्वास छैन ।

गत माघ ७ गतेभित्र भुक्तानी पाउने सहमति भएको थियो । सहमति भएकै एक वर्ष पुग्न लाग्दै छ । अहिलेसम्म तपाईहरुले भुक्तानी पाउनुभएको छैन ?
– पहिला सय करोड बाँकी थियो । नेपाल भरिका किसानका पुरानो भुक्तानी सय करोडभन्दा माथि नै थियो । त्यसमध्ये अहिले पनि ७० करोड भुक्तानी हुन बाँकी छ । पुरानो भुक्तानीमा ३० करोड जति दियो र यसपालिको भुक्तानी दिइसकेको छ ।

तपाई उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष पनि हुनुहुन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
– हाम्रो समस्या समाधान जिल्लामै हुने भए काठमाडौँ आउँदैनौ । तर, हामी बाध्य भएर आउनुपरेको छ । भुक्तानी भएन भने हामी निर्णायक आन्दोलन पनि गर्छौ । चित्त बुझ्यो भने हामी फर्केर पनि जान्छौ ।

तर, हामीले पटक–पटक आन्दोलन गरिसकेका छौ । पहिला गाउँमा आन्दोलन गर्यौ । त्यसपछि चिनी मिल हुँदै जिल्ला र काठमाडौं आएर आन्दोलन गर्यौ । काठमाडौंमा भएको आन्दोलनबाट केही भएन त भन्न मिल्दैन तर सोचे अनुसारको भएन । यहाँ मिडियाकर्मी साथीभाईबाट साथ त पाइयो तर सरकारबाट आश्वासबाहेक केही पाएनौ ।

हाम्रो सरकारसँग के माग छ भने –तपाईले ५३६ रुपैयाँ किसानहरुको तोक्नु भएको छ । ५३६ मध्ये ६५ रुपैयाँ हाम्रो सरकारबाट अनुदान नै आउँछ । हामीले ४७१ रुपैयाँ पाउनुपर्ने हुन्छ । यसमा पनि मिल मालिकहरुले ३६ रुयैयाँ घटाइदियो । यो मिल मालिक एक्लैले गरेको होइन । स्थानीय नेता र मिल मालिकबीच बन्द कोठाका कुराकानी भयो । तर, हामीलाई त्यहाँ जान दिइएन । दुईबीच ३६ रुपैयाँ घटाएर ४० दिनको भित्र किसानलाई भुक्तानी गर्ने भनियो । उहाँहरुले अब किसानको समस्या समाधान हुन्छ । अब किसानको पैसा बाँकी हुँदैन भनेर हामीहरुलाई भन्नुभयो ।

नेता र मिल मालिकबीच के सहमति भयो तपाईहरुलाई त्यसबारे जानकारी दिइयो त ?
– हामीलाई सहमतिबारे जानकारी दिइएन । हामीहरुले यतिसम्म गरिरहेका छौ भने हामीलाई प्रतिनिधिको रुपमा राख्नुपर्ने थियो । तर, उहाँहरुले त्यस्तो गर्नुभएन । हामीले एक क्वीन्टल उखुको ३६ रुपैयाँ घाटा सहेर किन सहमति गर्ने ? सरकारबाट त्यसै पनि कम मूल्य पाइरहेका छौ । ५३६ मा हामीले उखु बेच्नु परेको छ । ८०–८५ रुपैयाँ मूल्य तिरेर चिनी खरिद गर्नुपरेको छ । यसबारे हामी मान्दैनौ भन्यौ तर नेताहरुले हाम्रा कुरा सुनेनन् ।

त्यसो भए ४० दिनको दिन किसानलाई भुक्तानी गर्ने भनिएको रकम पाउनुभयो त ?
– पाएनौ । अर्को कुरा ३६ रुपैयाँ नेताजीहरुले त्यसै उडाइदिनुभयो, कनौडियाहरुसँग मिलेर । उहाँ त काँग्रेसको सभासद हुनुहुन्छ । त्यहाँ जिते पनि काँग्रेसले नै हो । अझ अर्को कुरा उखु काँटा हुँदा कुनै गाडामा २० प्रतिशत काट्ने, कुनैलाई १०, कुनैलाई पाँच गरियो भने कुनैमा १५ प्रतिशतसम्म पनि कट्टा गरियो । यसले हामीलाई दोहोरो मार पर्यो । तैपनि घाटा सहेर हामीले उखु दियौ । तर, ४० दिन पुग्दा पैसा पाएनौ । अब वर्षौ बित्न लाग्दा पनि पाएका छैनौ ।

हामीले कृषि प्रधान देश भनेर रेडियो, पत्रपत्रिका, टिभीमा प्रचार गर्छौ । किसानलाई यस्तो हुन्छ उस्तो हुन्छ, गरिबको सरकार हो, नारा त यही थियो नि ? तर, हामीलाई के अनुभूति भयो भने गरिबको यदि सरकार भएको भए गरिबको कुरा त सुनिदिनुपर्यो नि ? हामी गरिबमाथि खेलवाड गर्ने भ्रष्टाचारीहरुलाई, नेताहरुलाई, उद्योगपतिहरुलाई कारबाही हुनुपर्ने हो । होइन भने हामी यो सरकारलाई सक्षम सरकार मान्दैनौ । यो दुई तिहाइको सरकार हो भनी कराएर हिँड्नुहुन्थ्यो, म यस्तो गर्छु, उस्तो गर्छु तर होइन रहेछ । यो पुँजीपतिको सरकार हो । किनभने सरकारभन्दा उद्योगपति ठूलो होइन । सरकारले चाहेको भए हाम्रो रकम भुक्तानी गर्नसक्थ्यो । तपाईहरुले हामीसँग खेलवाड धेरै गर्नुभयो अब यस्तो खेलवाड चल्दैन ।

तपाईहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नुभयो । उहाँको तर्फबाट के कुरा आयो ?
– मलाई सबैभन्दा खुशीको कुरा उहाँको कानसम्म कुरा पुगेको रहेछ । उहाँले नेपाल कृषि प्रधान देश हो । हामी पनि किसानको छोराछोरी नै हौ । आज म कुर्सिमा बसिरहेको छु यो भन्दा पहिला रामवरणजी बस्नुभएको थियो । यहाँ जो पनि बस्न सक्नुहुन्छ । हामी किसानको छोराछोरी हौ त्यसैले हामीलाई किसानको मर्म थाहा छ । त्यो पैसा तपाईहरुको हो तपाईहरुले पाउनुपर्छ भन्नुभयो ।

उखु बेच्ने सर्लाहीमा तर भुक्तानी पाउन काठमाडौँ धाउनुपर्ने र आन्दोलन गर्नुपर्ने अवस्था आयो नि ?
– यो धेरै दुःखको कुरा हो । यो भन्न पनि अलि लाजमर्दो कुरा हो । किन भने तराईमा नेताजीहरुको उखुको तौल यता हुन्छ भने पैसा घरमै पुग्छ । उहाँहरुलाई पैसा लिन मिलमा आइराख्नु परेन । उहाँको पैसा घरमै जान्छ । हामीहरुलाई त्यो सुविधा छैन । अहिलेसम्मको रेकर्ड हेर्नुहुन्छ भने पुँजीपति, नेताज्यूहरुको घरमै पैसा जान्छ ।

त्यसोभए यहाँ पनि विभेद छ ?
– ठूलो विभेद छ ।

उखु त नगदे बाली हो तर भुक्तानी पाउन यस्तो सास्ती खेप्नुपरेको छ ?
– हामीसँग सरकारले गरेको सम्झौताअनुसार पनि काम भएन । हाम्रो ३६ रुपैयाँ जुन घटाइएको छ त्यो समेत हामीले जति आन्दोलन गर्यौसहित बसाइ खर्च, खाना खर्चबाहेक त्यसको ब्याज जोडेर हामीले पैसा पाउनुपर्यो । होइन भने सरकार वा उद्योगपति कसैलाई हामी छोडदैनौं ?

भुक्तानीका लागि चिनी मिलका सञ्चालकले के भन्छन् ?
– मिल सञ्चालकहरु सबैले त्यस्तै कुरा भन्छन् ।

राकेश अग्रवालले सर्लाहीमा सञ्चालन गरेको अन्नपूर्ण चिनी उद्योग, जगदीश अग्रवालको बागमती सुगर मिल लगायत अन्य चिनी मिलका सञ्चालकसँग तपाईहरुको सम्पर्क भएको छ ?
– केही सम्पर्क भएको छैन । हामीसँग कहाँ सम्पर्क गर्छ । मिल सञ्चालकहरुले अहिलेसम्म हामीलाई झारपात नै सम्झन्छन् । दुई–चार दिन काठमाडौं आउँछ कराउँछ अनि जान्छ । आजको मितिसम्म कुनै मिल सञ्चालक सम्पर्कमा आएका छैनन् ।

भुक्तानीका लागि आन्दोलन गर्ने भन्नुभएको छ, के छ तपाईहरुको आगामी कार्यक्रम ?
– यदि भुक्तानी भएन भने नेपाल अधिराज्यभरिका किसान दाजुभाईहरु एक ठाउँमा आएर आन्दोलन गर्छौ । हामीले तराई, पहाड, हिमाल सबैको साथ पाउँछौ । हामीले आफ्नो लागि मात्र लडेका होइनौ । हामीले समग्र किसान दाजुभाईका लागि लडेका हौ । अब हामी एक निर्णायक आन्दोलन गर्छौ । शुरुमा माइतीघर, दोस्रो दिन सिंहदरबार, तेस्रो दिन संसद भवन हुँदै बालुवाटार, हरिहर भवनमा आन्दोलन गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित : कात्तिक २६, २०७७

प्रतिक्रिया दिनुहोस्