आजदेखि यमपञ्चक शुरु, तर काग तिहार भोलि



काठमाडौं : कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज (बिहीबार) देखि शुरु भएको छ ।

यस वर्ष यमदीपदान आज बेलुकीदेखि शुरु हुने भएपनि काग तिहार कात्तिक २८ गते अर्थात् शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरिजयन्ती र धनतेरस पर्व पनि भोलि नै परेको छ ।

“सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने ।

तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उनले बताए । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न १ः४९ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगनाले बताए ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

मंसिर १ गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए । मंसिर १ गते सोमबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ ।

मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले बताए । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि मंसिर १ गते नै गरिन्छ । मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही संस्थाले मंसिर २ गते भाइटीका मनाउने भनी गरेको निर्णय शास्त्रसम्मत नरहेको जनाउँदै नेवार समुदायका तीन जना पञ्चाङ्गकारले प्रकाशन गरेका तीन पात्रो (पञ्चाङ्ग) ले पनि मंसिर १ गते भाइटीका उल्लेख गरेका छन् ।

सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीले समितिको स्वीकृतिमा प्रकाशन गरेको पात्रोमा मंसिर १ गते भाइटीका मनाउनुपर्ने उल्लेख छ । यो समुदायका तीनै जना पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पात्रोमा उल्लेख गरेका छन् ।

मंसिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यसले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठताको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने बसमितिले जनाएको छ ।

प्रकाशित : कात्तिक २७, २०७७

प्रतिक्रिया दिनुहोस्