संसदीय समितिका सभापतिकाे चयन अाज हुँदै



काठमाडौं : प्रतिनिधिसभाका १० विषयगत समितिको सभापति चयनका लागि बिहीबार मनोनयन हुँदै छ । प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बिहीबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता हुने छ।

 

प्रतिनिधिसभा नियमावलीको नियम १७३ (२) बमोजिम एक प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गर्न सकिनेछ । प्रतिनिधिसभा सचिवालय सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा मनोनयन हुनेछ । उम्मेदवारको अन्तिम सूची बिहीबार बेलुका साढे ५ बजे प्रकाशित हुनेछ ।

 

प्रतिनिधिसभा नियमावलीको नियम १७३ (४) अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ । एकभन्दा बढी मनोनयन परेमा शुक्रबार बिहान ११ बजे निर्वाचन हुनेछ । निर्वाचन सबै समितिको बैठक कक्षमा हुनेछ । एकभन्दा बढी समितिमा सदस्य रहेका सांसदहरूलाई आफूले मताधिकार प्रयोग गर्ने समितिको जानकारी दिन बिहीबारसम्म समय सचिवालयले दिएको छ ।

 

यस्तो जानकारी सभामुखलाई उपलब्ध गराउनु पर्नेछ । प्रधानमन्त्री तथा मन्त्रीहरू विभिन्न समितिमा पदेन रहने व्यवस्था छ । तर, मतदानको अवस्था सिर्जना भएमा एउटामात्र समितिबाट मतदान गर्नुपर्नेछ ।

कुन समितिमा कसको उम्मेद्वारी

संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सहज बहुमत रहेको छ । निर्वाचन भएमा सबै समितिमा नेकपाले सहज जित हासिल गर्ने अवस्था छ । तर, संसदीय मान्यता अनुसार सार्वजनिक लेखा समिति प्रमुख विपक्षी दलले पाउनेछ । 

 

यस्तै, अन्य विषयगत समिति पनि दलीय सहमितमा बाँडफाँड भएका छन् । सत्ता साझेदार दल सङ्घीय समाजवादी फोरमले एक विषयगत समिति पाएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा फोरमले विमल श्रीवास्तावलाई सभापतिको उम्मेदवार बनाउँदै छ । अन्य आठ समितिमा नेकपाका सांसदहरूको उम्मेदवारी तय भएको छ ।

 

विपक्षी दलले अहिलेसम्म लेखा समिति बाहेकका अन्य समितिमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन । नेकपाको आन्तरिक सहमति अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाललाई सभापतिको उम्मेदवार बनाउने तयारी छ । 

 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठलाई अघि सार्ने समझदारी बनेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृष्ण सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदीलाई उम्मेदवार बनाउने तयारी छ । सुवेदी पहिलो संविधानसभामा उपाध्यक्ष थिए ।

 

महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती, र विकास तथा प्रविधि समितिमा कल्याणी खड्कालाई अघि सार्ने नेकपाको तयारी छ । संयुक्त सदनका सभापति चयनको प्रक्रिया भने अगाडि बढेको छैन ।

प्रतिक्रिया दिनुहोस्