हावाहुरी र चट्याङका कारण एकजनाको मृत्यु



उदयपुर : मंगलबार रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुर जिल्लाको कटारी नगरपालिका–८ बबलामा एकजनाको मृत्यु भएको छ भने विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको छ ।

रातको १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आएको भीषण हावाहुरी र चट्याङका कारण कटारी नगरपालिका–८ बबलमा ३५ वर्षीया कालीमाया आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

मगरको घरमा नै बसिरहेको अवस्थामा हावाहुरीसँगै आएको चट्याङका कारण मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए ।

हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको स्थानीयवासीले बताएका छन् ।

हावाहुरीका कारण चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेश्वरी भागलपुर क्षेत्रमा लिची तथा आँपका फल खसालेको चौदण्डी नगरपालिका–३ हँडियाका सुरेश चौधरीले बताए ।

यता त्रियुगा नगरपालिका–१ को जोगिदह तथा खैजनपुर क्षेत्रमा पनि फल लाग्दै गरेको लिची र आँपमा ठूलो क्षति पुगेको स्थानीयवासी पुलकित चौधरीले बताए ।

हावाहुरीका कारण झण्डै ४० प्रतिशत आँप र लिचीमा क्षति पुगेको चौधरीले बताए ।

कटारी नगरपालिकाको रिस्कु क्षेत्रमा पनि हावाहुरीले आँपमा क्षति पुगेको रिस्कुका मानबहादुर दनुवारले बताए ।

हावाहुरीले गएराति उदयपुरको त्रियुगा नगरपालिका गाईघाटको बसपार्क मोतिगडा क्षेत्र खैजनपुर क्षेत्रमा खरका छाना भएका घरको छानो समेत उडाइदिएको छ भने कतिपय स्थानीयवासीको टिनको छानोसमेत उडाएर क्षति पु¥याएको प्रहरी तथा स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्