एक्सनमा बोर्ड अध्यक्ष : हिन्दी फिल्म ‘कलंक’को रिलिज रोकियो, नेपाली निर्माताहरु खुसी



काठमाडौँ : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली कथानाक चलचित्रलाई बचाउन बोल्ड निर्णय लिएका छन् । ठुलो बजेटका दुई नेपाली कथानाक चलचित्र प्रदर्शनमा रहेका बेला अध्यक्ष भट्टराईले हिन्दी चलचित्र 'कलंक' लाई बुधबारै नेपालमा रिलिज हुन रोकिदिएका हुन् । 

नेपाली चलचित्र क्षेत्र जोगाउन 'कलंक'लाई रोक्नुपर्ने चलचित्रकर्मीको मागको सुनुवाइ गर्दै अध्यक्ष भट्टराईले यस्तो निर्णय लिएका हुन् । चलचित्र विकास बोर्डको यो बोल्ड निर्णयसँगै ठुलो बजेटका 'यात्रा' र 'ए मेरो हजुर ३' ले अझै केही दिन राम्रो व्यापारको मौका पाएका छन् । 

विश्वभर एकसाथ रिलिज भएको अवस्थामा नेपाली हलमा पनि आएको भए दर्शकहरु दुई नेपाली चलचित्र छाडेर 'कलंक'तिर जान्थे । तर ३ करोड लगानी भएको यात्रा र २ करोड बजेटको ए मेरो हजुर ३ लाई डुब्न नदिन अध्यक्ष भट्टराईले 'कलंक' लाई रोकिदिएका हुन् । 

अध्यक्ष भट्टराईको यो कदमलाई धेरै चलचित्रकर्मीले प्रशंसा गरेका छन् । कलाकार केदार घिमिरे 'माग्ने बुढा' ले बोर्डको यो कदमको प्रशंसा गरेका छन् । यो निर्णयमा अध्यक्ष भट्टराईलाई सबैले साथ दिनुपर्ने बताउँदै यसलाई नेपाली चलचित्र जोगाउने गहकिलो निर्णय भनेका छन् । 

कलंक रोकिएको अवस्थामा गत शुक्रबार रिलिज भएको अनमोल केसी-सुहाना थापा अभिनित ए मेरो हजुर ३ ले मंगलबारसम्म चार करोड कमाएको दाबी निर्माण पक्षले गरेको छ।  यो फिल्मले प्रदर्शनको चार दिनमा चार करोड धेरै कलेक्सन गरेको हो । शुक्रवार ७५ लाख कमाएर राम्रो सुरुवात गरेको यो फिल्मले शनिवार १ करोड १४ लाख बटुल्यो । तेस्रो दिन आइतवार एक करोड ५० लाख कमायो । फिल्मले मंगलबारसम्म ४ करोड कमाइ गरेको रिपोर्ट आएको हो । 

अर्कातिर चलचित्र विकास बोर्डकै अध्यक्ष भट्टराई र सुशील पोखरेलको लगानी रहेको यात्रा चार दिनमा तीन करोड भन्दा बढी उठाएको बताइएको छ । यो अवस्थामा बुधबारदेखि हिन्दी फिल्म कलंक नेपाली हलमा आएको भए यी दुवै चलचित्रले अधिकांश दर्शक गुमाउने खतरा थियो । 

निर्माता सुशील पोखरेलले हिन्दी फिल्म नेपालमा नआउँदैमा वितरक नमर्ने र संसार पनि नउल्टिने कडा प्रतिक्रिया दिएका छन् । 'भारतमा हजारौं फिल्म बन्छन् । सबै नेपालमा आउँदैनन् । त्यस्तै एउटा 'कलंक' नआएर न वितरक मर्छन् न संसार उल्टिन्छ', पोखरेलले भनेका छन्, 'बजारमा जति नै करोडको हल्ला भए पनि  बिग बजेट २ फ्लिमको लगानी ५ दिनमा उठ्दैन । त्यसैले यो बिषम परिस्तिथिमा नेपाली भएर सोचौं । कलंक एक हप्तापछि रिलिज गरौं । किन भने नेपाली फिल्म हामी सबैको साझा हुन्छ र नेपाली फिल्मलाई बचाउनु हामी सबैको धर्म हो ।'

'कलंक' रोकिएसँगै चलचित्रका शक्तिशाली अधिकारीहरुले माफियाको निद्रा खोसेको प्रतिक्रिया चलचित्रकर्मीहरुले दिएका छन् । 'नेपालमा अधिकार भएको व्यक्ति माफिया भन्दा शक्तिशाली पहिलो पटक देखियो', एक चलचित्रकर्मीले भने, 'विकास बोर्डका अध्यक्ष देखाएको निर्णय क्षमताले माफियाको निदहराम भएको छ ।'

अध्यक्ष भट्टराई आफैँ तीन दशकदेखि निर्माता र कलाकारको रुपमा सक्रिय छन् । उनीसामू चलचित्र नीति पारित गर्ने र बक्सअफिस लागू गर्ने चुनौती छन् । यी दुवै काम गर्ने बाचा उनले पदभारका क्रममा गरेका छन् । 

भट्टराई चलचित्र विकास बोर्डको अध्यक्ष भएलगत्तै उनकै लगानीमा निर्मित 'यात्रा' प्रदर्शनमा गयो । यात्रासँगै फिल्म 'ए मेरो हजुर ३' पनि त्यही दिन रिलिज भयो । दुई ठुला बजेटका फिल्म जुधेपछि अध्यक्ष भट्टराईले बेथिति रोक्न नसकेको स्वीकारेका थिए । चलचित्र पत्रकार संघ, नेपालले सोमवार राजधानीमा गरेको ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिति’अन्तरक्रियामा भट्टराईले दुई फिल्म वितरकको कमजोरीले जुधेको जिकिर गरे । 

के थियो चलन ? 

नेपाल र भारतबीच खुला सीमाना र बजार अर्थनीति रहँदै आएको छ । दुवै देशका नागरिकबीच आवतजावतमा पनि समस्या छैन । एक अर्ब करोड जनसंख्या भएको भारतमा बोलिने हिन्दी भाषा धेरै नेपालीले पनि बुझ्छन् । सिमाक्षेत्रमा नेपालीले हिन्दी बोलिरहेका हुन्छन् । भाषिक सजिलोले नेपालमा राज कपुरको समयदेखि अहिलेसम्म हिन्दी फिल्मले प्रभुत्व जमाउँदै आएको छ । बलिउड स्टारहरुको फिल्म आएपछि नेपाली फिल्म थला नै पर्ने गरेका छन् । 

बलिउड अभिनेताहरु शाहरुख, आमिर र सलमानको फिल्म नेपालमा लाग्दा नेपाली फिल्म कि त प्रदर्शनमै आउँदैनन् कि त हलबाट उत्रिन्छन् । करोडौँ लगानी गरेर बनाएका नेपाली फिल्मले पछिल्लो समय दर्शक पाउन सकेका छैनन् । निर्माता दिपकराज गिरीको भाषामा नेपाली फिल्मले दर्शक खोज्नुपर्ने अवस्था छ । नेपाली फिल्मले दर्शक गुमाइँरहँदा 'कलंक' लाई रोकेर चलचित्र विकास बोर्डले सकारात्मक सन्देश दिएको छ ।

खुला बजरा अर्थनीतिका कारण नेपालमा भारतीय फिल्म रोक्न सकिने अवस्था छैन । तर नेपाली नीति निर्माता गम्भीर नहुँदा हिन्दी फिल्मका कारण नेपाली कथानाक चलचित्र थला नै पर्ने गरेका छन् । चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले नेपाली चलचित्र चारवटा ठूला पर्वबाहेक शुक्रवार मात्रै रिलिज गर्ने सहमति गरेका थिए । 

नेपाली चलचित्र शुक्रबार रिलिज भइरहँदा हिन्दी फिल्म भने बुधबार या बिहीबार नै नेपाली हलमा आइसक्छन् । हिन्दी फिल्म चाडपर्वमा पनि बुधबार या बिहीबार नै आइदिँदा नेपाली फिल्म डुब्ने गरेको गुनासो निर्माताको छ । 

बलिउडका फिल्म पनि शुक्रवारै रिलिज हुने गरेका छन् । चाडपर्वमा अघिल्लै दिन पनि रिलिज हुन्छ । भारतमा जुन दिन रिलिज हुन्छ, नेपालमा पनि त्यही दिन आउने गरेको छ । त्यहीकारण नेपाली फिल्मले प्रत्यक्ष मार खेप्नुपरेको निर्माता पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्