हतियारसहित नेपाल प्रवेश गरेका तीन भारतीय नागरिक पक्राउ



बीरगंज । हतियारसहित नेपाल प्रवेश गरेका तीन भारतीय नागरिकलाई सशस्त्र प्रहरीले वीरगन्ज रक्सौल सीमा नाकाबाट गएराति पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका १६ स्थित वीरगन्ज भन्सारको मुल गेटबाट चेकजाँचको क्रममा सशस्त्र प्रहरीले भारतको पूर्वी चम्पारण मोतिहारी जिल्ला, रामगढवा बजारका २७ वर्षीय अवधबिहारी प्रसादको साथबाट आरपी २२३६५९ नम्बरको ७ दशमलब ६५ एमएमको पेस्तोल, त्यसमा लाग्ने ८ राउण्ड गोली र २ वटा म्यागेजि फेला परेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार गस्ती गुल्म वीरगन्जका निमित्त गुल्मपति पदम खड्काले बताएका छन् ।

सशस्त्र प्रहरीले उनको सहयोगीका रूपमा रहेका सोही ठाउँका ३७ वर्षीय उमेश प्रसाद गुप्ता र स्कार्पियो चालक ओम प्रकाश पासवानलाइ गाडीसहित नियन्त्रणमा लिएको खड्काले बताए । बरामद हतियार, त्यसमा लाग्ने गोली र म्याग्जिनसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।

बी आर ०५ पीए ६१७७ नम्बरको सेतो स्कार्पियो गाडीमा नेपाल आउँदै गरेको  अबस्थामा भन्सार अगाडि शंका लागि चेकजाँच गर्दाे हतियार, गोली र म्याग्जिन फेला परेपछि  तीनै जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरिक्षक खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्