मुस्ताङको कोरला नाकामा संसदीय समिति



बेनी : कोरला नाका सञ्चालन सम्बन्धमा भइरहेको प्रगति बुझ्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमास्थित कोरला नाकाको स्थलगत अध्ययन गरेको छ।

समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा ९ सांसद समावेश टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रका पूर्वाधार, सुरक्षा स्थितिबारे स्थलगत अध्ययन गरेको हो।

हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो भूभाग लोमान्थाङको कोरला नाका चीनसँग व्यापार तथा पारवहनका लागि सबैभन्दा नजिकको र उपयुक्त नाका भएकाले सञ्चालन गर्न नेपाल–चीन दुवैले पूर्वाधार निर्माण गरिरहेका छन्।

संसदीय टोली स्थलगत अध्ययन गरी मुस्ताङबाट बुधबार फर्किएको छ। टोलीले जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको समेत अध्ययन, अनुगमन गरेको थियो। टोलीले सरोकारवालासँग त्यसबारे छलफलमार्फत् सुझाव संकलन गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए।

टोलीलाई जिल्लाका सरोकारवालाहरुले बेनी–जोमसोम–कोरला सडक आयोजनालाई तीव्रता दिन, विभिन्न स्थानमा गाडी गुड्ने पुल निर्माण गर्न, नाका सञ्चालनका लागि कूटनीतिक पहल गर्न, सुरक्षा र प्रशासनिक तयारीका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन्।

हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन र भ्रमणमा आउने दर्शनार्थी तथा पर्यटकको उपचारका लागि डाक्टरको दरबन्दि भएको स्वास्थ्य संस्था सञ्चालन गर्न पनि स्थानीयले माग गरेको सांसद तुलाचनले बताए।

अध्ययन, छलफल र सुझाव समेटेर प्रतिवेदन तयार पारी सरकारलाई सुझावसहित बुझाइने सभापति खरेलले बताए। नेपाल भ्रमण वर्ष २०२० र कोरला नाका सञ्चालनको तयारीका विषयमा सुझाव संकलनका लागि संसदीय टोली मुस्ताङ आएको हो।

नेपाल भ्रमण वर्ष २०२० का लागि मुस्ताङ पनि एउटा प्रमुख पर्यटकीय गन्तव्य भएकाले यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण र धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसारमा जोड दिनुपर्ने जिल्लाका सरोकारवालाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्