विप्लवले राखेको ‘कुकर बम’ भित्र भेटियो बासीभात ! 



मोरङ : नेत्रविक्रम चन्द विप्लव समूहले बिहीबार गरेको बन्दका क्रममा सडकमा राखेको एउटा 'कुकर बम' भित्र बासी भात भेटिएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सडकमा सर्वसाधरणलाई आतंकित बनाउन राखिएको कुकर भित्र बासी भात भेटिएको हो । 

बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका-७ बेलगाछीस्थित सडकमा राखिएको बम नक्कली भएको नेपाली सेनाको बम डिस्पोजल टोलीले पुष्टि गरेको छ। 

बम भेटिएको हल्ला चलेपछि स्थानीय त्रसित भए भने पुर्व-पश्चिम राजमार्ग पनि अवरुद्ध हुन पुग्यो । बम भेटिएको खबरपछि नेपाली सेनाको टोली पुगेको थियो । डिस्पोजल टोलीले बम निष्कृय गर्न खोज्दा कुकर भित्र बासी भात भेटिएको हो ।

तारसमेत जोडेर राखिएकाले स्थानीयले त्यसलाई बम नै भएको ठानेका थिए । तार जोडेर राखिएको कुकर भित्र भात देखेपछि सेनाको टोली छक्क परेको थियो । सेनाले कुकर हटाएपछि पूर्व-पश्चिम राजमार्ग पनि सुचारु भइसकेको छ। 

प्रतिक्रिया दिनुहोस्