कीर्ते गरेको अभियोगमा पूर्वसभासद् बीपी यादव पक्राउ



काठमाडौँ : रातो पासपोर्ट बेचेको आरोप लागेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य बीपी यादव सरकारी छाप किर्ते गरेको अभियोगमा पक्राउ परेका छन् । 

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका-२ र ३ मा पर्ने सडक निर्माणमा कीर्ते उपभोक्ता समितिमार्फत् बैंक खाता खोलेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले बताए ।

यादव पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालाबाट समानुपातिक सभासद् थिए । रातो पासपोर्ट काण्डमा मुछिएका उनी हाल राजपामा केन्द्रीय सदस्य छन् । कीर्ते काण्डमा संलग्न अन्यको खोजी भइरहेको एसपी बिष्टले बताए । यादवले नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप कीर्ते गरेको खुलेपछि पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । 

यादवविरुद्ध सरकारी छाप कीर्तेमा मुद्दा चलाउने प्रहरीले जनाएको छ । सभासद् भएका बेलामा उनी रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पक्राउ परेका थिए । रातो पासपोर्ट दुरुपयोगको मुद्दा अझै विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्