टर्किश एयरलाइन्सको लापरबाहीः एक नेपाली ५२ घण्टादेखी इस्तानबुलमा, उडानको टुङ्गो छैन



काठमाडौं– कोरोना भाइरसको महामारी र विश्वका विभिन्न देशले सुरक्षाका लागि गरेका लकडाउनका कारण स्वदेश फर्कन चहानेहरू अझै पनि सहज रुपमा फर्कन सक्ने अवस्था छैन । कुनै न कुनै बहानामा उनीहरू अप्ठेरोमा पर्ने गरेका छन् । उनीहरू बीचमा अलपत्रमा परेमा जिम्मा कसले लिने भन्ने अझै विवादित नै छ ।

त्यसैको एक उदहारण हुन् विनिता शाह । धनुषा स्थिाई घर भएकी शाह एमबिबिएस पढ्नका लागि रूस गईन् । कोरोनाको जोखिमका कारण अनलाइन कक्षाहरू मात्रै सञ्चालन भएकाले उनले नेपाल आउने निधो गरिन् । २१ नोभेम्बरमा उनले नेपालको यात्रा तय गरेकी थिइन् तर उनी अझै इस्तानबुलमा नै छिन् ।

नोभेम्बर २१ राती रूसको राजधानी मस्कोबाट इस्तानबुलको उडान रहेको शाह बताउछिन् । सबै प्रक्रिया पुरा भएकाले एयरलाइन्सले पनि उनलाई उडानको लागि अनुमति दिएको थियो ।

तर जब उनी इस्तानबुल आइपुगिन् उनलाई नेपालको उडानको लागि अनुमति दिइएन् । कारण उनको पीसीआर परीक्षण । उनी भन्छिन्– ‘जब म ३ घण्टा इस्तानबुल विमानस्थलमा बसे र नेपालको लागि उडानको अनुमति लिन लागे तब उनीहरूले मलाई तिम्रो पीसीआर परीक्षण गरेको ५ दिन भएछ र यो मान्य हुने छैन भनेर भने ।’

उनको पीसीआर परीक्षण गरेको पाँच दिन भएकाले उनलाई नेपाल आउन स्वीकृती दिइएन् । ५२ घण्टादेखी उनी इस्तानबुलमा नै छिन् । उनलाई फेरी पीसीआर गर्नुपर्ने बाध्यता छ तर उनी नेपाली नागरिक भएको र नेपालको पासपोर्ट भएकाले उनलाई विमानस्थालबाट बाहिर गएर पीसीआर गर्नको लागि पनि अनुमति दिइने छैन । उनी फेरी मस्कोपनि फिर्ता हुने अवस्था पनि छैन।

उनलाई टर्किश एयरलाइन्सले कुनै प्रतिक्रया दिएको छैन । उनी ५२ घण्टाबाट त्यही बस्न बाध्य भएकी छन् र उनलाई सो एअरलाइनसको तर्फबाट कुुनै पनि खाना र बस्नको लागि सहयोग पनि प्राप्त भएको छैन ।

द नेपालटप डटकमले गृहमन्त्रालय अन्तर्गतको विभागसँग बुझ्न खोजेका थियौं तर यस विषयमा कुनै पनि जानकारी नभएको जबाफ हामीले पायौं । त्यसैगरी परराष्ट्रमन्त्रालयले पनि आफूहरूलाईयस विषयमा कुनै पनि खबर नभएको बताएको छ । अध्यागमन विभागको भनाई पनि उही– ‘हामीलाई जानकारी छैन । ’

त्यसपछि नेपालटपले पाकिस्तानस्थित नेपाली राजदूतावासका प्रतिनिधिसँग सम्पर्क ग¥यौं । यस घटनाको पुरै जानकारी उनीहरूले लिइसकेपछि दूतावास सक्दो छिटो शाहलाई नेपाल फर्कनको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले भोली रातीको उडानबाट शाहको यात्रा तय गरिदिने बताएका छन् ।

तर यसको सम्पूर्ण जिम्मेवारी टर्किश एयरलाइन्सले नै लिनुपर्ने शाहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्