पाँचौं चोर



रामचन्द्र पाण्डेय : राजा बिक्रमादित्य असाध्य वीर थिए । उनी जति वीर थिए, त्यत्तिकै दानी पनि थिए । विद्वान र ज्ञानीहरूलाई त उनले दान गर्ने नै भए गरिबहरूलाई पनि खुब दान दिन्थे । जो उनको दरबारमा जान्थ्यो, खुस भएर नै आउँथ्यो ।

जसलाई जे इच्छा हुन्थ्यो, त्यसलाई पूरा गर्नमा राज्यको तर्फबाट कुनै कसर बाँकी राखिँदैनथ्यो । यस्ता राजाका प्रजा किन दुःखी हुन्थे र ? यसैकारण नगरमा सुख नै सुख थियो । मानिसहरू कमाउँथे खान्थे र सुखको जीवन बिताउँथे ।

राजा बिक्रमादित्य आफ्नो प्रजाको भलाइका लागि सदैव चिन्तित रहन्थे । एक समयको कुरा हो, राजा बिक्रमादित्यले आफ्ना प्रजाहरूको सुख दुःख हेर्नका लागि भेष पविर्तित गरेर घुम्ने विचार गरे । विचारको मात्रै कमी थियो ।

रातिको समयमा राजा बिक्रमादित्यले आफ्नो भेष परिवर्तित गरेर राजसी पोसाक झिकेर पुरानो च्यातिएको लुगा लगाए । घोडा, गाडी र सिपाहीलाई साथमा राखेनन् । चुपचाप महलबाट बाहिर निस्के र नगरतिर हिँडे ।

संयोगको कुरा जब बिक्रमादित्य नगरमा पुगे, उनको भेट चोरहरूसँग भयो । चोरहरू चार जना थिए । चारै जना चोर घरबाट चोरी गर्न निस्केका थिए र त्यो बेला उभिई–उभिई राय सल्लाह गरिरहेका थिए ।

एउटा चोरले भन्यो, ‘ल भन्नुस् ! आज हामी कुन घरमा चोरी गर्न जाने ?’ दोस्रो चोरले भन्यो, ‘अरे शुभ समयको विचार गरेर चोरी गर्न गयौं भने त धन अवश्य नै पाइन्छ, चाहे जहाँ चोरी गरौं ।’

तेस्रो चोरले भन्यो, ‘जब चोरी गर्न नै निस्केका छौं भने के शुभ के अशुभ ? जसको घरमा इच्छा भयो त्यहीँ पसौंला ।’

‘अरु के ?’, चौथो चोरले भन्यो, ‘हिम्मत हुनुप¥यो, बस । हिम्मत छ भने मानिस एक चोटि यमराजसँग पनि लड्न सक्छ । जाँऊ कतै चोरी गरौं । अगाडि जे हुन्छ, देखाजाला ।’

राजा बिक्रमादित्य लुकेर चारै जना चोरहरूको कुरा सुनिरहेका थिए । चोरहरूको यी सब कुरा सुनेर उनलाई धेरै दुःख लाग्यो । बिक्रमादित्य मनमनै सोच्न थाले– धिक्कार छ मेरो दान र धर्मलाई । धिक्कार छ, मैले राजा हुनुमा । यदि मेरो नगरका सारा प्रजा सुखी हुन्थ भने यी चार जना चोर किन हुन्थे र ? यी चारै जना गरिब छन् । पेट पाल्ने अन्य कुनै उपाय न भएर नै चोरी गर्न हिँडेका हुन् ।

अर्को कुनै समय भएको भए राजा आफ्ना सिपाहीहरूबाट तुरुन्त समात्न लगाउँथे होला, तर त्यसबेला त राजा आफैंले आफैंलाई मनमनै झपारिरहेका थिए । उनी सोचिरहेका थिए– यदि मैले प्रजाको सुखदुःखको ध्यान राखेको भए त प्रजा किन गरिब हुन्थे ?

प्रजा गरिब न भएको भए उनीहरू चोरी किन गर्थे ? गल्ती त मेरो नै छ । प्रजा दुःखी र म मस्त निद्रामा छु । अन्तमा उनले निधो के गरे भने यी चारै जनालाई सजाय दिनु उचित छैन, बरु यिनीहरूलाई केही धन दिनु उचित हुन्छ, जसले गर्दा उनीहरूले पछि चोरी नगरुन् ।

तर यिनीहरूलाई धन दिने पो कसरी ?

यत्तिकैमा राजाको मस्तिष्कमा एउटा उपाय आयो । उनी पनि लुकेर चोरहरूकै साथमा लागे । चोरहरू आफूसित अपरिचित मानिस देखेर डराए । उनीहरूले राजासँग सोधे, ‘भाइ, तिमी कहाँ  जान्छौ ?’

राजा बिक्रमादित्यले भने, ‘तपाईंहरू जहाँ जानु हुन्छ, म पनि त्यहीँ जान्छु ।’

अब त चोरहरूलाई अझै डर लाग्यो । उनीहरूले डराउँदै सोधे, ‘तिमीलाई के मतलब ? तिमी को हौ ?’ राजा बिक्रमादित्यले हाँसेर भने, ‘तिमीहरू जे हौ, म पनि त्यही हूँ ।’

‘तिमी पनि चोर हौ’, एउटा चोरले हाँसेर भन्यो ।

‘हो’, राजा बिक्रमादित्यले टाउको हल्लाएर भने ।

राजा बिक्रमादित्य त भेष परिवर्तित गरेका थिए, चोरहरूले उनलाई चिन्न सकेनन् । उनीहरूले उनीमाथि तुरुन्तै विश्वास गरे । त्यसपछि परीक्षा लिनका लागि सोधे, ‘तिमीलाई चोरी गर्न डर लाग्दैन ? थाहा छ कि छैन । कतै गिरफ्तार भइयो भने राजाले हात खुट्टा कटाएर नगरभन्दा बाहिर फालिदिन्छन् ।’

राजा बिक्रमादित्यले हाँसेर भने, ‘जब चोरी गर्न निस्केको छु भने डराएर काम चल्छ ।’

‘चोरी किन गर्छौ ?’ तेस्रो चोरले सोध्यो ।

राजा बिक्रमादित्यले त्योसित प्रतिप्रश्न गरे, ‘तिमीहरू किन गर्छौ ?’

‘हामी त गरिब छौं’, चौथो चोरले भन्यो, ‘जब कुनै पनि तरिकाले खाने व्यवस्था भएन अनि बाध्य भएर चोरी गर्छौं ।’

राजा बिक्रमादित्यलाई यो कुरा सुने धेरै नै दुःख लाग्यो तर उनी चुप लागेर बसे । त्यसबेला त उनी केही गर्न सक्दैनथे राजा थिएनन् ।

उनी त आफैं पनि चोर थिए ।  एकछिन सोचेर उनले भने, ‘बडो अनौठो कुरा छ । राजाले यति धेरै दानपुण्य गर्छन्, तैपनि प्रजा गरिब छ । कति गरिब छ भने चोरी गरेर पेट पालिरहेका छन् ।’

चारै जना चोरले निस्फ्रिक्री ढंगले भने, ‘तिमी आफू पनि चोर हौ, तिमी नै बताऊ किन ?’

‘त्यही त म पनि भनिरहेको छु’, केही सोचेर राजा बिक्रमादित्यले भने, ‘आखिरमा यसको के कारण हुन सक्छ ?’

‘कारण म बताउँछु,’, एउटा चोरले भन्यो ।

राजा बिक्रमादित्यले आश्चर्यचकित भएर भने, ‘हो, हो बताऊ ।’

‘कारण केहो भने यी राजा तिनीहरूलाई मात्र दान गर्छन्, जो उनीकहाँ माग्न जान्छन् । अब सम्पूर्ण प्रजा त भिखमंगा छैनन् । हामीहरूलाई नै लिनुस् न । हामीहरू मोटाघाटा र स्वस्थ्य छौं । भन्नुहोस्, राजाकहाँ हामी किन भिक्षा माग्न जाने ? अब कुनै काम नै पाइँदैन भने के गर्ने ? बाध्य भएर चोरी गर्नुपर्छ ।’

कुरो त एकदमै सत्य थियो । राजा बिक्रमादित्यले आफ्नो गल्ती स्विकारे । उनले के बुझे भने एउटा मानिसलाई सुन नै सुनको भारी दिएर पनि सम्पूर्ण जनताको त त्यसबाट भलो हुन सक्दैन । सम्पूर्ण जनताको भलो त त्यही बेला मात्र हुनसक्छ, जुन बेला सबैले कुनै न कुनै काम गर्न पाउन् ।

चोरहरूको कुरा सुनेर राजा बिक्रमादित्य अति नै खुसी भए । उनले के सोच्न थाले भने यस्ताहरूलाई त इनाम दिनुपर्छ । तर त्यो बेला उनी चुप लागे । किनभने राजा बिक्रमादित्यलाई के थाहा थियो भने उनले उनीहरूका सामुन्ने आफूलाई प्रकट गरे भने चोरहरू डरका कारणले नगर छाडेर गइहाल्छन् । केही यस्तो गर्नुपर्छ जसले……।

यत्तिकैमा एउटा चोरले सोधिहाल्यो, ‘के सोचिरहेका छौ भाइ ?’

राजा बिक्रमादित्यले छिटोछिटो कुरा बनाएर भने, ‘केही होइन.. केही होइन….लौ त आज कता चोरी गर्ने विचार गर्नु भएको छ?’

‘तिमी कता चोरी गर्न हिँडेका थियौ ?’, दोस्रो चोरले सोध्यो ।

राजा बिक्रमादित्यले भने, ‘मेरो के ? म जहाँ मौका पाउँथें, त्यहीँ पस्थें । कसैसित त राय दिनु थिएन नि मलाई ?’

‘एक्लै किन भाइ ?’, तेस्रो चोरले भन्यो, ‘यसो गर हामीहरूसँग नै हिँड । अहिलेसम्म चार थियौं, अब पाँच भइहाल्छौं ।’

‘हो, कुरो त ठीकै छ, तर तिमीहरूमा केही विशेषता पनि छ कि त्यसै हिँडेका छौ ?’, राजा बिक्रमादित्यले भने ।

‘विशेषता ? बिना विशेषता नै हामी चोरी गर्न हिँडेका छौं त ?’, पहिलो चोरले भन्यो, ‘थाहा छ ? म एउटा ठूलो ज्योतिषी हुँ । शुभ समय विचार गरेर निस्कन्छु । धेरै धन लिएर फर्किने गरेको छु । अशुभ समयमा म कहिल्यै पनि चोरी गर्न निस्किन्नँ । यही कारण हो मलाई कहिल्यै पनि कसैले समात्न सकेन ।’

‘साँच्चै, यो त वास्तवमा नै ठूलो गुण हो’, राजा बिक्रमादित्यले भने र प्रशंसा गर्दै अर्को चोरसँग सोधे, ‘के भाइ, तिमीसँग पनि यस प्रकारको कुनै विशेषता छ ?’

दोस्रो चोरले शानसँग भन्यो, ‘अवश्य छ ।’

‘अच्छा, तिमीसँग पनि विशेषता छ हो ? ल, तिमी पनि भन ।’

तब अर्को चोरले भन्यो, ‘मलाई एउटा मन्त्र थाहा छ । म सबैलाई देख्न सक्छु, तर मलाई कसैले देख्न सक्दैन । भन्नुहुन्छ भने म राजाको अगाडिबाट धन उठाएर ल्याउन सक्छु । जब कसैले मलाई देख्न नै सक्दैन भने समात्छ कसले ?’

‘हो यो त झन् ठूलो विशेषता हो’, राजा बिक्रमादित्यले भने । उनले तेस्रो चोरसँग सोधे, ‘लौ त अब तपाईं पनि भन्नुस्, तपाईंसँग कुन विशेषता छ ?’

‘हो, छ । म विश्वभरिका पशुपक्षीहरूको बोली बोल्न सक्छु र बुझ्न पनि सक्छु’, उसले भन्यो ।

‘यो त झनै ठूलो विशेषता हो’, अब राजा बिक्रमादित्यले चौथो चोरसँग सोधे, ‘अच्छा, अब तपाईं पनि आफ्नो विशेषता बताउनुस् ।’

चौथो चोरले आफ्नो पाखुरा ठोक्तै भन्यो, ‘थाहा छ ? मलाई जोसुकैले जुनसुकै हतियारले मार्न खोजे पनि मार्न सक्दैन ।’

‘हो र ?’, राजा बिक्रमादित्यलाई एकदमै आश्चर्य लाग्यो । उनी भन्न थाले, ‘तिमीहरूभित्र त वास्तवमा नै गुणको भण्डार रहेछ ।’

‘त्यो त हामी छौं नै’, चारै जना चोरले एकसाथ भने, ‘तर तिमीसँग पनि कुनै गुण छ कि छैन ?’

राजा बिक्रमादित्यले टाउको हल्लाउँदै भने, ‘छन त छ बाबु, एउटा गुण मसँग पनि छ ।’

‘त्यो के ?’, एउटा चोरले सोध्यो ।

‘सिपाहीको के तागत चाहे सेनापतिले समातेको किन नहोस् मेरो एउटै इसारामा सबै छाडिदिन्छन्’, राजा बिक्रमादित्यले हाँसेर भने । उनले कुरा लुकाएर भने, ‘मलाई यस्तो मन्त्र थाहा छ, जसलाई पढेर कसैलाई इसारा गरेपछि उसले छाडिहाल्छ ।’

‘तब त तिमी हामीमध्ये सबभन्दा गुणी रहेछौ’, एउटा चोरले खुसी हुँदै भन्यो, ‘अब त हामीहरूलाई के को डर । यदि समातिए पनि तिमी छुटाइहाल्छौ, होइन ?’

‘हो, हो….अवश्य नै छुटाइदिन्छु’, राजा बिक्रमादित्यले वाचा गर्दै भने ।

‘त्यसो भए जाउँ र आज राजाको महलमा नै चोरी गरौं’, एउटा चोरले भन्यो ।

‘हो’, ज्योतिषी चोरले खुसी हुँदै भन्यो, ‘यो समयको साइत एकदम राम्रो छ । हामीहरूलाई धेरै धन मिल्छ ।’

अब सबै चोरहरू राजमहलतिर हिँडे । राजा बिक्रमादित्य पनि उनीहरूकै साथमा हिँडे । पाँचै जना चोर महलको छेउमा पुगे । एउटा चोरले अगाडि उभिएर भन्यो, ‘भाइहरू, पहिला म भित्र जान्छु । यदि कुनै किसिमको समस्या देखियो भने तुरुन्तै मन्त्र पढ्छु । त्यसपछि म सबैलाई हेर्छु, मलाई कसैले देख्दैन ।’

‘ठीक छ’, पशुको बोली बुझ्ने चोरले भन्यो, ‘म यहीँ बसेर पहरा दिन्छु । यदि कोही आउँदै गरेको देखियो भने स्यालको जस्तो चनाखो भइहाल्नु ।’

अहिले उनीहरू कुरा गरी नै रहेका थिए, एउटा कुकुर भुक्न थाल्यो । पशुको बोली बुझ्ने चोर कुकुरको भुकाइ सुनेर एकदमै डरायो । उसले भन्यो, ‘यो त एकदमै नराम्रो भयो । थाहा छ ? यो कुकुरले के भनिरहेको छ भने चोरहरू चोरी गर्न गइरहेका छन् र राजा हेरिरहेको छ ….।’

उसको भनाइ समाप्त पनि भएको थिएन, पचासौं सिपाहीहरू आएर उनीहरूलाई समातिहाले । तै पनि उनीहरू डराएनन् । उनीहरू के सोचिरहेका थिए भने हाम्रो नयाँ साथीले त हामीलाई छुटाइहाल्छ नै । उसलाई त्यस्तो मन्त्र थाहा छ ।

तर यो के ?

पाँचौं चोर बेपत्ता भएको थियो । उनीहरू पाँचौं चोरले मन्त्र पढेर छुटाउला भन्ने सोचिरहेका थिए, त्यो मान्छे नै छैन । उनीहरूले कतै न कतै अवश्य धोका भयो भएको छ भन्ने बुझिहाले ।

वास्तवमा भएको के थियो भने महलको किनारमा पुग्दापुग्दै राजाले आफ्ना सिपाहीहरूलाई इसारा गरिसकेका थिए र जब सिपाहीहरू चोरहरूलाई समात्दै थिए, त्यही बेला उनी चुपचाप त्यहाँबाट निस्कीसकेका थिए ।

दोस्रो दिन दरबार लाग्ने बित्तिकै राजा बिक्रमादित्यले आदेश गरे, ‘चारै जना चोरलाई दरबारमा हाजिर गरियोस् ।

चारै जना चोरहरू राजाका सामुन्ने हाजिर गराइए । उनीहरूले राजालाई देखेपछि स्तब्ध हुन पुगे । उनीहरूले तुरुन्तै चिनिहाले, राजा नै चोर बनेर उनीहरूसँग चोरी गर्न आएका रहेछन् भन्ने बुझिहाले । अब त उनीहरू मूर्तिवत भइसकेका थिए । उनीहरूलार्ई राजाले हात खुट्टा काट्न लाउँछन् र नगर बाहिर फ्याँक्न लगाउँछन् भन्ने थाहा भयो ।

डरले चोरहरू कामेको देखेर राजा बिक्रमादित्य हाँस्न थाले र मुख बनाउँदै ज्योतिष जान्ने चोरसँग भने, ‘तिमी त शुभ मुहुर्त हेरेर चोरी गर्न निस्केका थियौ, कसरी पक्राउ प-यौ ? तिमीलाई त खुब धन मिल्नेवाला थियो होइन र ?’ ज्योतिष जान्ने चोरले चुपचाप आफ्नो शिर झुकायो ।

राजा बिक्रमादित्यले दोस्रो चोरतिर हेरेर भने, ‘तिमी त पशुको बोली बुझ्छौ होइन…।’

‘हो, महाराज !’, दोस्रो चोरले साहस गरेर भन्यो, ‘कुकुर भुकेर भनिरहेको थियो, चोरहरू चोरी गर्न गइरहेका छन्, राजा हेरिरहेको छ….।’

‘तैपनि पक्राउ परियो, होइन ?’ राजा बिक्रमादित्यले हाँसेर भने । त्यसपछि उनले तेस्रो चोरसँग सोधे, ‘तिमी त मन्त्र पढेर गायब हुन सक्थ्यौ, कसरी पक्राउ प-यौं ?’

तेस्रो चोर स्तब्ध थियो ।

राजाले फेरि चौथो चोरसँग सोधे, ‘तिमी त कुनै किसिमले मार्न खोजिए पनि मर्दैनौ, तर जेलमा अवश्य नै सड्छौ ।’

बिचरा चोरले के जवाफ दिने, चुप लाग्यो ।

राजा बिक्रमादित्य टाउको हल्लाएर भने, ‘हेर, तिमीहरूका सबै गुण यस बेला बेकार छन् ।’

‘होइन महाराज यस्तो कुरा होइन’, एक्कासी पहिलो चोरले टाउको उठाएर भन्यो ।

राजा बिक्रमादित्य एकदमै आश्चर्यमा परे, ‘तिमीहरू अहिले पनि बाँच्ने आशा गरिरहेका छौ ?’

चोरले एकदमै साहस गरेर भन्यो, ‘हो महाराज, हामी अहिले पनि बाँच्न सक्छौं ।’

‘त्यो कसरी ?’, राजाले सोधे ।

चोरले त पहिला नै सोचिसकेको थियो । त्यसलाई के थाहा थियो भने पाँचौं चोर राजा नै थिए । त्यसैकारण उनले के भनेका थिए भने मेरो कएक संकेतमा सबै छुट्न सक्छौ, ठीक नै भनेका थिए । राजाको हुकुमलाई कसले अटेर गर्न सक्छ ?

चोरले सोच्यो– राजाले त सजाय गर्छन् नै अनि डर केको । जहाँसम्म हुन सक्छ, राजाले दिएको वचन पूरा गराउने प्रयास गर्नु प¥यो । त्यो चोरले भन्यो, ‘हामीसँग एउटा पाँचौं साथी थियो । ऊ अहिलेसम्म समातिएको छैन ।’

‘के भयो त ? त्यो पनि समातिन्छ’, राजा बिक्रमादित्यले हाँसेर भने । चोरले भन्यो, ‘महाराज, त्यसलाई कस्तो मन्त्र थाहा छ भने त्यसको एउटा संकेतमा हामी सबै छुटिहाल्छौं ।’

‘हा… हा…. हा….’, राजा बिक्रमादित्य जोडले हाँसे र सोधे, ‘तिमीहरू के सोच्छौ ? पाँचौं चोर अहिले पनि तिमीहरूलाई छुटाउन आउला ?’

‘आउँछ महाराज, अवश्य नै आउँछ । हामी पाँचै जना साथी बनेका थियौं’, चोरले चतुराइपूर्वक भन्यो, ‘उसले हामीलाई वचन दिएको छ र जुन मानिसले वचन दिएर पूरा गर्दैन त्यो धोखेबाज कहलाउँछ । मलाई पूरा विश्वास छ, मेरो पाँचौं साथी धोकेबाज निस्कँदैन । अवश्य नै छुटाउन आउँछ ।’

चोरको कुरा सुनेर राजा बिक्रमादित्य अत्यन्त खुसी भए । उनले त चोरहरूको बुद्धिको परीक्षा लिइरहेका थिए ।

राजाले तुरुन्तै संकेत गरे र चारै चोर छाडिए । उनले भने, ‘तिमीहरूको पाँचौं साथी धोकेबाज छैन । उसले आफ्नो वचन पूरा ग-यो । तिमीहरू पहिलेजस्तै स्वतन्त्र छौ ।’

चारै जना चोर राजाको अगाडि लम्पसार परे र माफी माग्न थाले, ‘हामी पनि वचन दिन्छौं, महाराज अब कहिल्यै पनि चोरी गर्दैनौं।’

राजाले उनीहरूलाई उठाउँदै भने, ‘वास्तवमा गल्ती मेरो छ । अब म त्यस्तो काम गर्छु, जसले नगरका सबैलाई कुनै न कुनै काम मिलोस् कोही खाली बस्नु नपरोस् ।’

राजाको यो वचन सुनेर चोरहरू खुसीले आत्मविभोर भए र भन्न थाले, ‘तब त नगरमा कसैले पनि चोरी गर्दैन महाराज ।’

‘तिमीहरू चारै जना वास्तवमा नै अत्यन्त गुणी र बुद्धिमान छौं’, राजा बिक्रमादित्यले सबैलाई इनाम दिँदै भने, ‘अब तिमीहरू पनि गरिब रहँदैनौ ।’

इनाम पाएपछि पहिलो चोर जनु ज्योतिषी थियो, ले भन्यो, ‘हेर्नुस् महाराज, म वास्तवमा शुभ साइत हेरेर निस्केको थिएँ कि थिइनँ ? हामीलाई आखिरमा यत्ति धन त मिल्यो नै ।’

‘हो, तिमी वास्तवमा ज्योतिषी हौ । म आजदेखि तिमीलाई राजज्योतिषी बनाउँछु ।’

फेरि राजाले दोस्रो चोरतिर फर्केर भने, ‘तिमी लुकेर सम्पूर्ण नगरमा घुम्ने गर । तिमीलाई त कसैले देख्न सक्दैन र तिमी सबैलाई देख्छौ । यसप्रकार सबैको सुख दुःख मलाई बताउँदै गर्नू ।’ 

त्यसपछि राजा बिक्रमादित्यले तेस्रो चोरलाई आफ्नो सेनापति बनाउँदै भने, ‘तिमी त कसैले मारेर पनि मर्दैनौ, वास्तवमै वीर छौ । मेरो सेनाको सेनापति कुनै वीर नै हुनसक्छ ।’

‘अब मेरो लागि के आदेश छ महाराज’, चौथो चोरले भन्यो ।

‘तिमी पशुहरूको बोली बुझ्दछौ । मसितै बस्ने गर  पशुहरूको बोली बुझेर मलाई भन्ने गर’, राजाले भने ।

त्यसपछि राजा बिक्रमादित्यले आफ्नो प्रजाका लागि कस्तो कस्तो काम गरे भने नगरमा कोही पनि बिना कामको रहेन ।

कमाउने खाने कामको कमी नै नभएपछि कसैलाई दुःख किन हुन्थ्यो । अनि त नगरमा न त कोही चोर नै रहे, न कसैले खराब काम नै गर्नु प-यो । रातदिन प्रजा राजा बिक्रमादित्यको गुणगान गर्न थाले । राजा होस् त त्यस्तो ।

(बहुभाषिक पत्रिका ‘सयपत्री’को पूर्णांक १७ बाट साभार)

प्रतिक्रिया दिनुहोस्