पशु क्वारेन्टाइन चेकपोस्ट कैलालीमा व्यवसायीको तालाबन्दी 



कैलाली : पशु क्वारेन्टाइन चेकपोस्ट कैलालीमा उद्योग वाणिज्य संघको टोलीले  तालाबन्दी गरेको छ। अदालतले दिएको आदेश नमानेको भन्दै व्यवसायीको टोलीले शनिबार तालाबन्दी गरेको हो।

पशु क्वारेन्टाइनले चैत २० गतेदेखि उद्योगीका कच्चा पदार्थ बोकेका गाडी आयातमा रोक लगाएको छ। क्वारेन्टाइनले भारतीय क्वारेन्टाइनको प्रमाणपत्र भए मात्रै गाडी छोड्ने अडान लिएपछि व्यवसायीले उच्च अदालमा रिट हालेका थिए। कच्चा पदार्थ चेकजाँच गर्दै तत्काल गाडी छोड्न उच्च अदालत इजलाश महेन्द्रनगरले अन्तरिम आदेश दिइसकेको छ।

यद्यपी क्वारेन्टाइनले गाडी छोड्न र अदालतको आदेश मान्न अटेरी गरेपछि बाध्य भएर आन्दोलनमा गएको व्यवसायी विवेक भट्टले बताए। कैलाली उद्योग वाणिज्य संघले उच्च अदालतको आदेशपछि पनि भारतबाट ल्याइएको कच्चा पदार्थ नछोड्ने क्वारेन्टाइनविरुद्ध कडा संघर्ष गर्ने बताएको छ। 

धनगढीमा भएको छलफलपछि क्वारेन्टाइनविरुद्ध कडा संघर्षमा उत्रिने निर्णय भएको हो। पशु क्वारेन्टाइन चेकपोस्ट धनगढीले कच्चा पदार्थ ल्याउँदा भारतको स्वस्थताको प्रमाणपत्र माग्दै १६ वटा कच्चा पदार्थ बोकेका ट्रक भन्सारमा रोकेको छ।

दुई सातादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि सुदूरपश्चिममा पोल्ट्री व्यवसाय नै संकटमा परेको भन्दै व्यवसायी निराश हुन थालेका छन्। सुदूरपश्चिमका सबै नाकाबाट पशुपन्छीजन्य वस्तुको आयात ठप्प गरिएपछि पोल्ट्री व्यवसाय नै संकटमा पर्ने खतरा छ। 

पशु क्वारेन्टाइन चेकपोस्टले २० बर्षसम्म लागु नभएको नियम सुदूरपश्चिमका व्यवसायीका लागि मात्रै लागु गरेर भारतको प्रमाणपत्र मागेको व्यवसायीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्