ट्रम्पको दाबी अप्रमाणित : न्याय विभागले भन्यो–चुनावमा धाँधलीको प्रमाण भेटिएन



एजेन्सी : गत नोभेम्बर ३ मा सम्पन्न भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कुनै धाँधली नभएको अमेरिकाका महान्यायाधीवक्ता विलियम बारले बताएका छन् । तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरे जस्तो चुनावमा धाँधली भएको कुनै प्रमाण नभेटिएको उनले बताएका हुन् ।

ट्रम्पले आफू पराजित भएपछि राष्ट्रपति चुनावमा धाँधली भएको आरोप लगाइरहेकै बेला बारले न्याय विभागलाई चुनावमा धाँधली भए नभएको हेर्नका लागि न्याय विभागलाई निर्देशन दिएका थिए । तर, न्याय विभागले ट्रम्पको आरोप वा दाबीलाई सत्य सावित गर्ने कुनै पनि प्रमाण फेला नपारेको महान्यायाधीवक्ता बारले बताए ।

कानून कार्यान्वयन निकायका प्रमुख बारले भनेका छन्–‘अहिलेसम्म हामीले चुनावको नतिजा भिन्न पार्ने गरी धाँधली भएको कुनै पनि प्रमाण भेट्टाएका छैनौँ ।’ महान्यायाधीवक्ता बारको भनाईलाई हार स्वीकार नगरेका राष्ट्रपति ट्रम्पका लागि ठूलो धक्का हो ।

राष्ट्रपति ट्रम्प र उनको चुनावी अभियानले विभिन्न राज्यमा दायर गरेका मुद्दाहरु प्रमाणको अभावमा खारेज भएका छन् वा उनीहरुको विपक्षमा फैसला भएको छ ।

विभिन्न राज्यले नोभेम्बर ३ को चुनावमा राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितलाई औपचारिकता प्रदान गरिरहेका छन् ।

बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० मध्ये ३०६ इलेक्टोरल कलेज मत पाउने निश्चित भएको छ । पराजित भएका ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेका छ । पपुलर मत (कुल मत) मा बाइडेन ट्रम्पभन्दा कम्तिमा ६२ लाख मतले अघि छन् ।

महान्यायाधीवक्ता विलियम बारले कुनै पनि प्रमाण नभेटिएको जानकारीसहितको वक्तव्य जारी गरेपछि मंगलबार ट्रम्पले लगातार ट्वीट गरेर प्रमाण बिना चुनावमा धाँधली भएको पुनः आरोप लगाए ।

ट्रम्पका शीर्ष सहयोगी रहँदै आएका बारले अहिलेसम्म कुनै पनि ठूलो स्तरको धाँधली वा अपारदर्शिता नदेखिएको बताएको समाचार संस्था एपीले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७७

प्रतिक्रिया दिनुहोस्