मेला र महोत्सवको मापदण्ड तयार



म्याग्दी : म्याग्दीमा सञ्चालन हुने मेला तथा महोत्सबाट हुने विकृति र विसंगतिको अन्त्य गर्न तथा मेलालाई व्यवस्थित र मर्यादित  बनाउन मेला तथा महोत्सवको मापदण्ड तयार गरिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बेनीमा भएको सर्वपक्षिय छलफलबाट जिल्लामा आयोजना हुने मेला महोत्सवलाई व्यवस्थित बनाउनको लागि २२ बुँदे मापदण्ड तयार गरि जारी गरिएको हो।

सामाजिक विकृति न्युनिकरण गरि शान्ती शुरक्षा कामय गर्ने उद्धेश्यले मापदण्ड तयार गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। ‘मेला महोत्सव अव्यवस्थित तवरले सञ्चालन हुँदा अपराधजन्य गतिविधि बढेको र युवाहरू कुलतमा फस्ने खतरा बढेपछि मेला महोत्सवलाई मर्यादित र व्यवस्थित गर्न मापदण्ड बनाएका हौं’, प्रजिअ अधिकारीले भने।

परम्परागत रुपमा सञ्चालन हुँदै आएका मेला तथा महोत्सवहरूमा देखिएका विकृति नियन्त्रण र न्युनिकरण गरि कला संस्कृति र खेलकुदको प्रवर्द्धनसँगै पर्यटन प्रवद्र्धन गर्ने तवरले मेला महोत्सवलाई आयोजना गर्न मापदण्डले सहयोग पुग्ने उनले बताए।

मेला महोत्सवलाई आर्थिक, सामाजिक र साँस्कृतिक प्रवर्द्धन मैत्री बनाई जिल्लाको अपार पर्यटनको सम्भावनालाई सदुपयोग गर्न र सामाजिक, सांस्कृतिक विकृति, विसंगति हटाइ अपराध नियन्त्रण गर्न र मेला महोत्सवलाई मर्यादित बनाउन निर्माण गरिएको मापदण्ड जिल्लाका सबै स्थानीय तहमा तत्काल कार्यान्वयनमा ल्याउने प्रद्धिबद्धता समेत जनाएका छन्।

मापदण्डले मेला आयोजकलाई जिम्मेवार बनाउने र समयावधि छोट्याउने,विद्यालयमा मेला संचालन गर्न नपाउने,मदिरा र पैसाको हारजित हुने जुवाजन्य खेललाई प्रतिबन्ध लगाएको छ।त्यसैगरी आयोजकले स्थानीय तहमा प्रस्ताव पेश गर्नुपर्ने, सुरक्षा प्रबन्ध भएपछि स्थानीय तहले बढीमा पाँच दिनसम्मको लागि राति ७ बजेपछि कार्यक्रम गर्न नपाउने गरी अनुमति दिन सक्ने छ।

विपद्, प्रकोप र मौसमको प्रतिकूलता भएको अवस्थामा सहमतिमा दुई दिन थप गर्न पाउने पनि मापदण्डमा उल्लेख छ। त्यसैगरी मापदण्ड विपरीतका गतिविधि भएमा आयोजकलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएर कानुनी कारबाही गर्नेछन्। महोत्सवको एक महिना र मेलाको दश दिन भित्रमा आम्दानी खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने, स्थानीय पत्रपत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्